६ चैत्र २०८०, मंगलवार
Follow Us

पहिला आक्रोसित बनाउने अनि टाउकोमा चढ्न खोज्ने ?

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७३, बुधबार १३:१८

laxmanलक्षमणलाल कर्ण, सहअध्यक्ष सद्भावना पार्टी

यतिबेला तराई मधेश आक्रोसित छ, सोमबार सप्तरी घटनामा चारजनाको ज्यान गएपछि मधेश आक्रोसित भएको हो । संयुक्त लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकसाताको अल्टिमेटम बुझाएको छ । मोर्चाको अबको रणनीति के हुन्छ ? यसै सेरोफेरोमा सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णसँग गरिएको कुराकानी–

० छलफलबाट के निर्णय भयो ?
– बैठकमा हामीले सप्तरी घटनामा एमाले दोषी देख्यौं । मधेशमा आन्दोलन चलिराख्या छ, एमाले मधेश विपरित छ, त्यो ठाउँमा सेना, प्रहरी लगाएर कार्यक्रम गर्नु राजनीतिक चरित्र होइन । मान्छे मर्छ भन्ने कुरा थाहा भइकन एमालेले त्यस्तो कार्यक्रम ग¥यो । त्यससम्बन्धमा हामीले भोलि २६ गते प्रदर्शन गछौं, २७ गते नेपाल बन्दको कार्यक्रम राखेका छौं । अन्त्यमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र ७ दिने अल्टिमेटम बुझाएका छौं । त्यस अवधिमा पनि हाम्रा माग सम्बोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र कडा आन्दोलनमा जान्छौं ।

० सरकारलाई ७ दिने अल्टिमेटम दिएर लचकता देखाउनुभएको हो ?
– लचकता होइन, कुनै पनि काम आवेशमा गर्नु हुँदैन । परिस्थितिको गम्भीरता हेरेर हामी पहिला ज्ञापनपत्र दिन्छौं । यस अवधिमा संविधान संशोधन र निर्वाचन मिति घोषणा फिर्ता लिएन पनि मोर्चाले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुन्छ ।

० सप्तरी घटनाको दोषी को हो ?
– घटनाको वास्तविकता जनताले मूल्यांकन गर्ने हो, त्यो एमालेको ज्यादती हो, त्यहाँ जनता उत्तेजनामा थिए, प्रचारात्मक कार्यक्रम गरिरहेका थिए, त्यहाँ एमालेले कार्यक्रम राख्नु नै ठीक होइन । इनरुवामा कार्यक्रम राख्दा नै झडप भयो, त्यहाँ धेरै मान्छेले पिटाइ खाए, त्यसपछि कार्यक्रम रोक्नुपर्नेमा जर्बजस्ती सप्तरी आए । आखिर सप्तरीमा मान्छे मारेर फेरि कार्यक्रम स्थगित गरे । त्यो कुरा इनरुवामा नै गरेको भए मान्छे मर्दैनन थिए । दोस्रो कुरा राज्य सञ्चालकका ठूलो गल्ती छ, त्यहाँ गोली चलाउनुपर्ने कुनै स्थिति थिएन । नेताहरु फर्किसकेका थिए, प्रहरी घेरामा गइसकेका थिए, जनता फर्कन लागेका थिए त्यो अवस्थामा छाती र टाउँको ताकेर गोली चलाएको हो । यो मानवअधिकार विपरित छ, नेपालको संविधान र कानुनविपरित छ । यो सरकारको पनि ज्यादती हो ।

० एमालेले त घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ भनेको छ त ?
– हिंसाको प्रयास भएको भए भन्नुपर्छ, प्रयास के भयो ? कोही बन्दुक तरबार लिएर गएको थियो ? त्यसै दोष लगाउनु बेग्लै कुरो हो ।

० झडपको स्थिति हुँदाहुँदै मोर्चाले किन संयमता अपनाएन ?
– मधेशमा आन्दोलन हुँदा एमालेबाट जुन अभिव्यक्ति आयो, त्यसले एमालेप्रति आक्रास विद्यमान छ । आक्रोसित जनताले एमालेलाई स्वभाविक रुपमा तराईमा आउन दिँदैन । यो नयाँ घटना होइन, गौरमा माधवजी जाँदा त्यही घटना भयो, ठाउँ ठाउँमा यो घटना भइरहेको थियो । यस्तो बेलामा एमाले मधेशमा डुल्नुपर्ने कुनै आवश्यका थिएन । राजनीतिक दलले संयमता अपनाउनुपर्ने थियो । त्यसकारण एमालेले घटना घटाएको हो ।

० मानवअधिकार आयोगविरुद्ध पनि उत्रनुभयो नि ?
– यो कस्तो मानवअधिकार हो ? एउटा वर्गको मात्र मानवअधिकार हो ? मधेशमा त्यत्रो क्षति हुँदा मानवअधिकारको कुन विज्ञप्ति आयो ? कहिले आयो ? जब हामीले नसक्दा अध्यक्ष र सदस्यहरुलाई भेट्यौं, त्यो अवस्थामा मात्र एउटा विज्ञप्ति निकाल्नुभयो । आजसम्म मानवअधिकारले के गरेको छ ? त्यत्रो मान्छे मा-यो, घाइते छ । त्यसकारण एउटा वर्ग वा समुदायको मात्रै राष्ट्रिय मानवअधिकार हुँदैन ।

० यस्ता घटना बारम्बार किन निम्तिन्छ ?
– कुनै मानिसलाई गाली गर्नु भनेको आक्रोसित पार्नु हो । मान्छे मर्दा आँप झ-यो भनेको सबैले सुनेकै हो । विहार, यूपी लिइहाल भने । त्यत्रो मानवश्रृङ्खला झापादेखि कञ्चनपुरसम्म थियो । उनीहरुलाई आक्रोसित गर्ने, अनि उसैको ठाउँमा चढ्न आउँछु भन्दा कोही पनि हेरेर बस्दैन । यो सरासर गलत हो । यो कालो वर्णको मान्छेप्रति राज्यले गरेको रंगभेद नीति हो ।

  • जनता मिडिया नेटवर्कबाट