१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संवैधानिक हक कुण्ठित नगर्न चुरे भावरको आग्रह

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७३, बिहीबार ०७:०५

काठमाडौं । बिना हातहतियार शान्तिपुर्ण तरिकाले आमसभा तथा जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले संबन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ । ४ जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा प्रतिपक्ष दल एमालेको आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबरोध पु¥याएको प्रसङ्ग उल्लेख गर्दै चुरे भावरले सो आग्रह गरेको हो । उक्त घटनाको जिम्मेवारी आमसभा बिथोल्न आउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनु पर्ने पनि सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले बताएका छन । ‘शान्तिपूर्ण रुपमा कुनै पनि राजनीतिक दलले कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछौ,’ अध्यक्ष न्यौपानेले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन, ‘कुनै पनि दलको पूर्वघोषित कार्यक्रमलाई विथोल्ने गरी जुधाएर ल्याइएका संघर्षले लोकतन्त्र र गणतन्त्रलाई फाइदा हुँदैन, अतः शान्तिपूर्ण राजनीतिक कार्यक्रमहरुलाई नबिथोल्न र संयम भएर प्रस्तुत हुन सबैमा अपील गर्दछौँ ।’ एमालेले घोषणा गरेको आमसभा बिथोल्ने क्रममा प्रहरी गोलीवाट ४ जना निर्दोषको ज्यान गएको थियो । चुरे भावरले उक्त घटनामा ज्यान गुमाएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
‘शान्तिपूर्ण कार्यक्रमलाई विथोल्ने, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने, भाला लाठी जस्ता घरेलु हतियार प्रहार गर्ने र अराजकता, उदण्डताजस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण नै मानवीय क्षति हुन पुगेको हाम्रो पार्टीको ठहर छ,’ न्यौपानेले बिज्ञप्तिमा भनेका छन, ‘त्यसबाट उत्पन्न परिस्थितिको सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्छ ।’ तर, फेरी पनि शान्तिपुर्ण कार्यक्रमलाई बिथोल्ने गएमा पार्टीलाई सह्य नहुने अध्यक्ष न्यौपानेले बताएका छन । ‘शान्तिपूर्ण कार्यक्रमलाई विथोल्ने गरी हिंसात्मक गतिविधी कसैले गर्छ भने पार्टीलाई मान्य छैन्’ प्रेस बिज्ञप्तिमा भनिएको छ ।