१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कैलालीमा पनि प्रदर्शन, नाकामै पुगेर विरोध

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७३, शुक्रबार ०७:४२

कैलाली । कञ्चनपुरमा बिहीबार भारतीय सुरक्षाकर्मीको गोली लागेर नेपाली मारिएपछि त्यसको विरोधमा कैलाली जिल्लामा पनि प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफन्टा नाका प्रवेश गर्न लागेका आक्रोशित नेपालीलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ ।
उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारवाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि विरोध गरेका छन् । कञ्चनपुरको आनन्दबजारमा पनि बिहानैदेखि नेपालीले प्रदर्शन गरिरहेका छन् । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ ।
यता, कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली नागरिकको ज्यान गएको विषय भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा गोली लागेर नेपालीको ज्यान गएको विषयमा एसएसबीसँग सोधपुछ भइरहेको उल्लेख गरिएको छ। भारतीय पक्षले मृतकको पोष्टमार्टम लगायतका रिर्पोटहरु कुटनीतिक माध्यमबाट आफूलाई पनि उपलब्ध गराउन आग्रह गरेको छ।
यसअघि बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले पुनर्वास नगरपालिकाको आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीले गोली नचलाएको जिकिर गरेको थियो।