१५ चैत्र २०८०, बिहीबार
Follow Us

सप्तरी झडपमा मृत्यु भएका पाँचैजनाको शवयात्रा

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार १२:५८

राजविराज । प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ । राजविराजको गजेन्द्र चोकमा मृतक पाँचजनाको पार्थिव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिनुभएको थियो ।
जिल्लाको मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो, मलेठ–४ का पीताम्बर मण्डल, प्रशवनी गाविस टेङ्रीका आनन्द साह र जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो ।
राजविराजको गजेन्द्र चोकबाट हजारौँ जनसमुदायको सहभागितामा निकालिएको शवयात्रा हनुमाननगर सडकखण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमाननगर, भारदह हँुदै बरमझिया, कञ्चनपुर, रुपनी, कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा भएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
लहानमा पुगेर श्रद्धाञ्जलि कार्यक्रमपछि लहानबाट पुनः कदमहा हुँदै कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रापछि मृतकका परिवारलाई जिम्मा दिई दाहसंस्कार गरिने मोर्चाले जनाएको छ । आज बिहानैदेखि गरिने भनिएको शवयात्रा वर्षाका कारण केहीबेरका लागि शवयात्रा रोकिएको थियो ।
नेकपा (एमाले)कोे मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा गत सोमबार आमसभा भएपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर पाँचजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो । सो क्रममा एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।