१२ बैशाख २०८१, बुधबार
Follow Us

फागुपूर्णिमा आज, हर्षोल्लासपूर्वक मनाइँदै

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७३, आईतवार ०४:४३

काठमाडौं । सामाजिक सद्भाव, मित्रता र प्रेमको पर्व फागुपूर्णिमा आज एकापसमा रंङ खेलेर हर्षोल्लासपूर्वक मनाइँदैछ । राजधानी काठमाडौ लगायत देशका विभिन्न शहर बजार र गाउँघरका चोकहरुमा आज उमंग पूर्वक फागु खेल्नेको भीड लागेको छ ।
फाल्गुण शुक्लअष्टमी तिथिमा विधिपूर्वक ठडयाइको फागूको चीर आज पूर्णिमाका दिन दाह गरिएपछि आपसमा फागु खेल्ने चलन छ । फागुको सम्बन्ध दैत्यराज हिरण्यकश्यपुको पौराणिक कथासँग सम्बन्धित छ ।

दैत्यराज हिरण्याक्ष हिरण्यकश्यपु शिवभक्त थिए तर उनका छोरा प्रल्हाद भने विष्णुभक्त भए । यसमा पिता हिरण्यकश्यपु छोराप्रति क्रुद्ध भए । आगोबाट समेत नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हद काखमा लिई दन्केको आगोमा पसेर प्रल्हादको बध गर्ने प्रयास गर्दा पनि प्रल्हाद जीवीतै रहेका थिए ।

दुष्ट स्वभावी होलिका जलेको र भक्त प्रल्हाद सकुशल रहेको खुशियालीमा आपसमा रंग खेलेर हर्षपूर्वक होली पर्व मनाउन थालिएको पौराणिक प्रसंग पाइन्छ । फागू पर्व वसन्त उत्सवको पनि पर्व भएकाले यस अवधिमा रति र कामदेवको पनि पूजा गरिन्छ ।

यस अवसरमा भगवान कृष्णले गोपिनीहरुसंग रास रचेर रमाएको प्रसंग पनि गाँसिएको पाइन्छ । फागुका अवसरमा पश्चिम नेपालको गण्डकीक्षेत्रमा फागुगीत गाई घरघरमा गएर नाचगान गर्ने र तिनलाई स्थानीयले स्वागत गर्दै रंग दलिदिने अनि दक्षिणाका साथै अन्नपात दिएर बिदा गर्ने चलन छ ।
यो वसन्ती रंग र रागको पर्व विश्व पर्यटकमाझ पनि लोकप्रिय हुँदै गएको छ । फागू वा होलीको अर्थ र यसको मर्यादा कायमै राखी यो पर्व मनाउँदै नेपाली संस्कृतिको माध्यमबाट नेपाल र नेपालीलाई विश्वमा चिनाउन सकिने पनि देखिन्छ ।