८ बैशाख २०८१, शनिबार
Follow Us

भूकम्पपीडितलाई दोस्रो किस्ता अझै अनिश्चित

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७३, आईतवार ०४:४४

मेलम्ची । भूकम्प गएको २३ महिना बितिसक्दा पनि सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित दोस्रो किस्ताको विषयमा अझै अनभिज्ञ छन् । नाम छुटेका पीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन सकेका छैनन् ।

विसं २०७२ वैशाखमा गएकोे विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लामध्येकोे सिन्धुपाल्चोक पहिलो स्थानमा पर्छ तर पनि यस जिल्लाका अधिकांश भूकम्पपीडितको नाम छुटेकाहरुको गुनासो दर्ता भए पनि लाभग्राहीमा समावेश गरिएको छैन ।

जिल्लाको पश्चिम मेलम्ची नगरपालिकाभित्र मात्र नाम छुटेका एक हजार एक सयभन्दा बढी पीडितको गुनासो दर्ता भएको छ । नेपाल पुनःनिर्माण प्राधिकरणले अहिलेसम्म पीडितको नामावली पठाउन नसक्दा पीडितले स्थायी आवास निर्माण गर्न नसकेको बताउँछन् ।

मेलम्ची नगरपालिकाले वितरण गरेको नौ हजार ७१ भूकम्पपीडित परिचयपत्रमा पुनःनिर्माण प्राधिकरणको टोलीले नगरपालिकाबाट सात हजार ६०९ को नामावली विवरण दिएको थियो । नगरपालिकाको फटकशिलामा भने दुई सुकुम्बासी र ४८२ जना भूकम्पपीडितले गुठीको जग्गा प्रयोग गर्दै आएकाले भूकम्पपीडितका लागि नाम दर्ता गर्न नगरपालिकामा निवेदन दर्ता गरेका छन् ।

नगरपालिकाभित्र एकसयभन्दा बढी दोस्रो किस्ताका लागि योग्य भएको भए पनि दोस्रो किस्ताको वितरणका लागि अहिलेसम्म कुनै पहल नभएको नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताउनुभयो ।

पहिलो किस्ता लिएर आवास निर्माणका लागि अग्रसर भएका पीडितको निर्माणाधीन घरको अवलोकनका लागि इन्जिनियर नपुग्नु पनि प्रमुख समस्या रहेको पीडितको गुनासो छ ।

भूगोलको हिसाबले पनि नगरपालिका निकै ठूलो क्षेत्र भएकाले केन्द्रबाट नियुक्ति लिएर आएका कतिपय इन्जियिनरहरु गाउँगाउँमा जानै नमान्ने तथा छिट्टै सरुवा भएर वा राजीनामा दिएर जाने गरेकाले पनि समस्या अझ थपिएको हो ।

आफूखुसी तथा विभिन्न संस्थाले बनाइदिएका २०० बढी घरको विषयमा भने नगरपालिका प्रमुख दुलालले मापदण्डअनुसार भएका घरको नक्सापास गर्न सकिने बताउनुभयो ।

भूकम्पपछि बनेका तर मापदण्डअनुसार नभएका घरकोे पनि सहजीकरण गरेर अनुदानको दायराभित्र ल्याउन पहल गरिने नगरपालिकाले जानकारी दिएको छ ।

गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरिदिएका तथा नगरपालिकाको आरुबोटे माझी गाउँमा थाई नेपाली सङ्घ थाइल्यान्डले बनाइदिएका भूकम्प प्रतिरोधात्मक घरको भने कुनै समस्या नरहेको दुलालले बताउनुभयो ।

लामो समयदेखि सरकारको आशामा बसेका जिल्लाका भूकम्पपीडितले अहिले सरकारको पुनःनिर्माणका लागि दोस्रोकिस्ता वितरणको गति अगाडि नबढेकाले सरकारले भूकम्पपीडितको वास्तविक समस्या बुझ्न नसकेको मेलम्ची नगरपालिकाका बासिन्दा टोमशङ्कर दुलालले बताउनुभयो ।

टिनको अस्थायी टहरो र हावाहुरीले जस्ता उडाउला भन्ने डरले पीडितहरु न त राम्रोसँग सुत्न सकेका छन् न त बस्न नै । अहिले स्थायी आवास निर्माणको प्रक्रिया अगाडि नबढ्दा जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारण बढी पीडित बनेका छन् ।