६ चैत्र २०८०, मंगलवार
Follow Us

भारतसँगको सीमामा जहिले किन किचकिच ?

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७३, आईतवार १४:४३

buddiनेपाल र भारतबीच खुला सीमा छ, र यो जहिले विवाद बनिरहन्छ । राष्ट्रवादीको आवारणमा नेताको राजनीति गर्ने माध्यम बन्छ, भारतसँगको सीमा ।यही सीमा विवादले गर्दा हालै एक नेपालीले ज्यान गुमाउनु प-यो । कहिल्ये नसुल्झिने यो विवादमा अब कति नेपालीले ज्यान गुमाउनु पर्ने हो त्यो भन्न सकिन्न । यो विवाद किन सुल्झदैन ? भन्ने विषयमा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग सहकर्मी लोकेन्द्र अधिकारीले गरेको कुराकानी–
बुद्धिनारायण श्रेष्ठ, सीमाविद्

० सीमा उत्पन्न विवादको मुख्य कारण के हो ?
– जंगे पिलर यथास्थितिमा नभएकाले सीमा विवाद उत्पन्न हुन्छ । दोस्रो कुरो भारत र नेपालतर्फ १० गज चौडाको क्षेत्रलाई दसगजा अर्थात् ‘नोमेन्स ल्यान्ड’ भनिन्छ । नोमेन्स ल्यान्ड कायम गरिनुपर्छ । यदि गरिएन भने सीमानामा विवाद भइरहन्छ । अर्को विवाद हुने कारण चाहिँ एकादेशको पक्षले म ठूलदाइ हुँ भन्ने भावना राख्छन भने पनि सीमा मिच्ने काम भइरहेको हुन्छ । र, नदीले धार परिवर्तन गर्दा, खम्बा नदीले बगाएर लगेको खण्डमा पनि सीमा विवाद हुने गर्दछ । सबभन्दा ठूलो कुरा समझदारी नहुनुका कारणले सीमा विवाद हुने गरेको पाइन्छ ।

० बैज्ञानिक ढंगले नक्साक्न भएको छैन ?
– नक्साक्न भएको छ, नेपाल र भारतबीचमा १ हजार ८ सय ८० किलोमिटर सीमा रेखा छ । त्यसमध्ये ९७ प्रतिशत सीमा रेखाको नक्साकन भएको छ । त्यो नक्सामा ८ हजार ५ सय ५३ सीमा खम्बा स्थापना गर्नुपर्ने भनेर अंकन गरिएको छ । तर दुर्भाग्यवस जमीनमा ४ हजार २ सय सीमा खम्बामात्रै खडा गरिएका थिए । यी मध्ये पनि लगभग १८ सय सीमा खम्बा लोप भएका छन् । कति नदीले बगाएको छ । कतिपय भाँचिएको, मर्मत गर्नुपर्ने छ । लोप भएका सीमा खम्बाहरु ठाउँ ठाउँ पुननिर्माण गर्नुपर्ने हुन्छ । पुननिर्माण गर्ने काम संयुक्तरुपमा हुँदै आएको छ । तर, जति मात्रामा हुनुपर्ने हो, त्यत्ति मात्रामा भएको छैन । यो काम चाँडो सम्पन्न गर्नुपर्छ ।

० हाम्रो दसगजा क्षेत्र कस्तो छ ?
– अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार दस गजा क्षेत्र निर्जन हुन्छ, त्यहाँ कुनै गतिविधि गर्न पाइँदैन । कुनै भौतिक निर्माण गर्न पाइँदैन, तर नेपाल र भारतको दसगजा क्षेत्र हेर्नुस्, कतिले घर बनाएर बसेका छन् । कतिले दस गजा क्षेत्रमा नै भैसीगोठ बनाएका छन् । मोरङको जोगमुनी भन्ने ठाउँमा त मन्दिर पनि बनाइएको छ । भारततिरको दस गजामा एक भाइको घर बनेको छ भने, नेपालको दस गजा क्षेत्रमा उसको सहोदर दाजुको घर बनेको छ । जबकी सीमा क्षेत्र सिद्धान्तअनुसार यो निर्जन हुनुपर्ने हो । यस्तो नहुनका कारणले बेला बेलामा सीमा अस्पष्ट हुनुका कारण स्थानीय व्यक्तिका बीचमा झडप हुने गरेको छ । यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पहिलो पटक भइसकेपछि दुवै देशबीचमा बोर्डर वर्किङ ग्रुप गठन भएको छ । बोर्डर वर्किङग्रुप अन्तर्गत जिल्लामा फिल्ड स्टडी टिम भनेर सिडियो, भारतमा डिएमको अध्यक्षतामा टिम बनिराखेको छ । यो टिमले केही मात्रामा पनि काम गरेको छ । तर आवश्यक मात्रामा काम गर्न सकेको छैन । यो काम रफ्तारका साथ दुवै देशको संयुक्त रुपमा अगाडि बढाउनु राम्रो हुन्छ । यसरी अगाडि बढाइयो भने बीचमा मनोमालिन्ने, झगडा र विवाद हुँदैन ।

० कन्चपुर घटना सीमांकन अस्पष्टले निम्त्यो ?
– हो, सीमांकन अस्पष्टताले नै घटना भयो । जुन झडप भयो, त्यहाँ जंगे खम्बा २ सय नम्बर गायब भएको छ । १ सय ९९ र २ सय १ नम्बरको खम्बा पनि छ । बीचमा २ नम्बरको खम्बा नहुनुका कारणले सीमा अस्पष्ट भएको हुनाले भारतीय पक्षले सीमा यहाँ हो भनेर हाम्रो आनन्द बजारलगायत वास्तविक सीमा रेखाबाट लगभग ४ सय मिटर उत्तरतर्फ नेपालतिर आएर दुई पक्षबीच घम्साघम्सी भयो । भारतीय पक्षका एसएसबीले गोली छोडेको कारण नेपाली नागरिक आनन्द गौतमको मृत्यु हुन पुग्यो । जंगे सीमा भइदिएको भए यो घटना हुने थिएन की ? दसजगा स्पष्ट भइदिएको भए, घटना हुने थिएन कि ? भन्ने लाग्छ । त्यसकारण दुवै देशको सरकारी निकाय मिलेर अविलम्ब २ सय नम्बरको सीमा खम्बा स्थापना गर्नुपर्छ । भविष्यमा यस्ता घटना नदोहोरियोस भनेर दुवैतर्फ दस गजा क्षेत्र स्पष्ट रुपमा राखिनुपर्छ ।

० सीमांकन भएपछि नेपालको सीमा सुरक्षा अधिकारी अथवा भारतको सरपन्जलाई जानकारी गराउन नसकेको कारणले विवाद निम्त्यो ?
– नेपाल र भारतबीचको ९७ प्रतिशत नक्सा बनेको छ । तर सीमा नक्साको सतप्रतिशत काम नसकिएको हुँदा विविधवत रुपमा दुवै देशका पदाधिकारीले यो प्रोटकलमा सही गर्न सकेका छैनन । ३ प्रतिशत बाँकी छ, विवाद भएकाले बाँकी रहेको हो । यो ३ प्रतिशतमा हाम्रो कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता, सन्दकपुर, ठोडीजस्ता ठाउँमा विवाद भएको हुनाले बाँकी छ । अहिले विवाद भएको आनन्दबजारभन्दा दक्षिण क्षेत्रको नक्सा बनेको छ, त्यो नक्सा कन्चपुरका सिडियो, सशस्त्र प्रहरीका एसपी, डिएसपीले मात्रै गोप्य तरिकाले हेर्न पाउने भनेर प्रवन्ध गरेको भए ती अधिकारीले नक्सा हेर्थे होलान् । त्यो हेरेर २ सय नम्बरको खम्बा यहाँ छ भनेर जमिनमा भिडाएर अंकान गर्नुपर्छ । खम्बा बनाउने टोली संयुक्त रुपमा आउँछन, यो ठाउँबाट दायाबाया नगरौं भनेर भन्न सक्ने थिए होला । तर हाम्रा सिडियोले पनि त्यो नक्सा देख्न पाएका छैनन, विवाद भयो भने प्रमाण त हुनुपर्छ, नक्सा नै ठूलो प्रमाण हो, किन भने नक्सा दुवै देशका पदाधिकारीले बनाएका हुन् । यद्यपि त्यो नक्सा लागू नभइसकेको अवस्था भएता पनि त्यसले मार्गदर्शन दिन सक्थ्यो । मार्गदर्शन दिने नक्सा जिल्ला प्रशासन कार्यालय प्रमुख र सीमा रक्षा गर्ने सशस्त्र प्रहरीका जिल्लास्थित इन्चार्जले हेर्न नपाएका कारण यस्तो पनि भएको हो । १२ वर्ष अगाडि कन्चपुरको सीमा नक्सा बनाइएको थियो, त्यसबेला स्थानीय निकाय पदाधिकारीहरुलाई सरिक नगराउनु नै ठूलो महाभूल हो । हाम्रो तर्फबाट गाविस अध्यक्ष, भारततर्फबाट सरपञ्चलाई राखेर सीमा यहाँबाट जान्छ है भनियो भने उनीहरुले आफू मातहतका जनतालाई बताउन सक्थे । सीमाकंन गर्नेबेलामा प्राविधिक बसेर नक्सामा रेखा ताने, त्यो रेखाअनुसार जमिनमा खम्बा गाड्दै हिडे । फलस्वरुप खम्बाको दुरी २ किमीको फासलामा हुने भएकाले त्यसबीचको जमिन विवादमा पर्ने भयो । सामान्यतः अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार दुई खम्बाको दुरी सोझो हुनुपर्छ । हामीकहाँ सोझो नभएर दुई खम्बाबीचको दुरीभित्र पनि सीमा कुनै दाया गएको, कुनै चोसो परेको, कुनै भित्र खुसेको हुनाले विवाद उत्पन्न भएको छ । त्यस्ता चोसाचोसी परेको ठाउँमा सहायक खम्बाहरु प्रशस्त्र मात्रा गाड्दै गयो भनेर र त्यसको सुरक्षा प्रवन्धलाई जागरुक बनाइयो भने सीमा विवाद हुने थिएन ।

० दीर्घकालीन विवाद समाधानका लागि के गर्न सकिन्छ ?
– सीमालाई व्यवस्थापन गर्ने विभिन्न चरण छन् । नेपाल र भारतमा खुला सीमा व्यवस्था छ, यसले अनेक विकृति ल्याएको छ । अवान्छित तत्वले खुला सीमाको दुरुपयोग गरेका छन् । आतंककारी, अपराधी, चेलीबेटी बेच्ने, लागूऔषध ओसारपसार गर्नेले खुला सीमाको दुरुपयोग गरेका छन् । त्यसकारण दुवै देश मिलेर सीमा दुरुपयोग गर्न दिनु हुँदैन । त्यसका लागि पहिलो चरणमा सीमा नाकाबाट वारपार गर्नेलाई परिचयपत्र अनिवार्य गर्नुपर्छ । यो काम सुदृढ हुँदै गएपछि अन्तिममा सीमामा काँडे तारबार, अथवा पर्खाल वा फलामे बार इत्यादी लगाइयो भनेदेखि सीमा समस्या समाधान हुनसक्छ । नेपाल–भारतको बीचमा १ हजार ८ सय ८० किमी लामो सीमा रेखा छ, यहाँ बार बन्देज गरियो भने ३ सय ६० स्थानमा आउने जाने नाका खोल्नुपर्छ । बन्द हुनु हुँदैन, भारतका जनता नातापाता भेट्न नेपाल आउने वा नेपाली जनता नातापाता भेट्ने भारत जान्छन् । परिचयपत्र देखाएर सीमा पार गर्ने, फर्केर आउँदा पनि परिचयपत्र देखाउने गरियो भने सीमा मिचिदैन, आतंककारी गतिविधि बढ्दैन । विश्वमा इस्लामिक स्टेटले आतंक मच्चाइरहेका छन् । यूरोपका विभिन्न देशमा मच्चाएर अहिले दक्षिण एसियामा प्रवेश गरेका छन् । एक महिना पहिला बंगलादेशमा २० जनाको हत्या गरे, पाकिस्तानमा पनि तहल्का मच्चाए, चार दिन अघि अफगानिस्थानमा पनि तहल्का मच्चाए । नेपाल र भारतको सीमालाई व्यस्थित गर्न सकिएन भने खुला मात्र होइन, ह्वाङगै छाडिराखियो भने नेपाल भएर त्यस्ता आतंककारीहरु भारत पस्न सक्ने, भारत भएर नेपाल पनि पस्न सक्ने भएको हुनाले दुवै देशका पदाधिकारी सजग हुनुपर्छ ।

० भारतसँगको सीमा विवाद किन बारम्बार हुन्छ ?
– सीमा खम्बा प्रशस्त मात्रामा नगाडिनका कारणले बलियो किसानले निर्दो किसानको जमिन मिचेको छ । बलियो भनेको भारततर्फका किसान हुन्, किनभने बलियो किसानको पछाडि उनीहरुका एसएसबीका जवान बन्दुक बोकेर आएका हुन्छन् । निर्दो किसान नेपाली हो, उ एक्लो छ । उसको पछाडि प्रहरी पनि छैन, सशस्त्र प्रहरी बल पनि छैन । जमिन मिचिएर नेपाली किसान कराए भने भारतबाट एसएसबीले नकरा गोली खान्छस् भन्ने धारणा आइरहेका छन् । सुस्ता क्षेत्रमा सीमा मिचियो भनेर त्यहाँका स्थानीय नेपाली लैला बेगम, गोपाल गुरुङ, आदम खाँ, मुन्ना खाँ, रोज अलि मियाजस्ता मान्छेहरु कराइराखेका छन् । यसरी कराउँदा पारीबाट भारतीय एसएसबीले बन्दुक तेस्याउँछ । बन्दुक तेस्याएपछि आफू मरिन्छ कि भन्ने दृष्टिकोणले नेपालीहरु दायाबायाँ लागिराखेका छन् । तर पनि उनीहरु कराउन छोडेका छैनन् ।

० यो विषयमा नेपाल सरकारले कस्तो कूटनीतिक पहल गर्नुपर्छ ?
– यथेष्ट मात्रामा सीमा खम्बा गाडिनुपर्छ, र त्यसको रक्षाका लागि कूटनीतिक पहल चाल्नुपर्छ । यदि कसैले त्यस्ता खम्बा भत्काउँछ, लोप गर्छ भने त्यस्तालाई अधिकतम सजाय हुनुपर्छ । सीमा खम्बा भनेको देशको सार्वभौमिकतासँग जोडिएको छ । सीमास्तम्भ दुवै देशको साझा सम्पत्ति हो, यसको रक्षा गर्नुपर्छ भनेर जनचेतना जगाउने काम गर्नुपर्छ । यसरी जागरण ल्याइयो भने सीमाको रक्षा उनीहरुले नै गर्छन् ।
दुवैतर्फ एकीकृत सीमाको विकास गरिनुपर्छ । एकीकृत विकास भनेको पारीपछि भारततिर झलमल्ल विजुली बलेको हुन्छ राति, नेपालतर्फ छैन । पारी सडक र बजारको व्यवस्था हुन्छ, नेपालतर्फ सडक, खानेपानी, सिँचाइको व्यवस्था छैन । त्यसकारण दुवै देशले कुटनीतिक तवरले मिलेर दुवै क्षेत्रमा एकीकृत सीमा विकास गर्नुपर्छ । र, साना सहरको निर्माण गर्दै जानुपर्छ ।

० कञ्चनपुर घटनापछि यो काम गर्ने समय आयो ?
– हो, एकदमै हो, आनन्दबजार दक्षिणको घटनामा २ सय नम्बरको खम्बा समयमा नै स्थापित गर्दिएको भए मलाई लाग्छ, यो घटना हुने थिएन । किनभने त्यो सीमा खम्बा नाघेर भारतीय एसएसबी नेपाल आउन सक्ने थिएन । हाम्रो सीमा भन्दै उनीहरु नेपालको ४ सय मिटरभित्र आए ।

० सीमासम्बन्धमा राजनीतिक दलका बीचमा एक मत छैन नि ?
– नेपालमा सीमाका सम्बन्धमा मात्र होइन, राष्ट्रियतका लागि एक मुख, एक जुट हुन सकेका छैनौं । चाहे सीमा होस्, चाहे व्यापार वाणिज्य सन्धीको कुरा होस्, चाहे जलविद्युत उत्पादनका कुरा हुन्, चाहे सडक विकासको कुरा होस्, नेपालीहरु एकमतले राष्ट्रिय नीति निर्माण गर्न नसक्नुको कारणले पछाडि परेका हुन् । नेताहरुमा पनि सीमासम्बन्धमा ज्ञान छ, पदमा बसेका बेला त्यो ज्ञान कार्यान्वयन गर्नुपर्ने हो, तर कार्यान्वयन भएको छैन । माओवादीले केही वर्ष अगाडि सीमा जागरण अभियान चलाउँदा अध्यक्ष पुष्पकमल दाहाल कालापानी जाने, बाबुराम भट्टराई सुस्ता जाने, नारायणकाजी श्रेष्ठ लक्षमणपुर बाँध जाने, रामबहादुर थापा रसियावला खुर्दलोटन बाँध जाने, मोहन बैद्य इलाम गएका थिए । त्यसबेला पुष्पकमल दाहाल कालापानी पुग्न सक्नुभएन । उहाँ भीमदत्त नगरपालिका पुगेर कालापानी हाम्रो हो, हामी कुरा गर्छौ, हामी समस्या समाधान गर्छौ भनेका थिए । बाबुराम भट्टराईले सुस्ताको निरीक्षण गरेर आइसकेपछि धाँदिङको बेनीघाटमा पत्रकारलाई भनेका थिए, सुस्तामा १४ हजार हेक्टर जमिन मिचिएको छ, यसलाई सौहार्दपूर्ण तरिकाले काम गर्नेछु भनेका थिए । अर्थात् सीमानाबारे उहाँहरुलाई राम्रो ज्ञान छ, तर अहिले राजनीतिक दलका नेताहरु एकजुट हुन सकेका छैनन् । यस्तो भइरहेको छ, कति समयसम्म यस्तो रहने ? राष्ट्रिय मुद्दामा हाम्रा नेताहरु पनि चेत्नुपर्छ ।