१५ चैत्र २०८०, बिहीबार
Follow Us

एकै थलोमा रमाए हंगकंगका फरक पुस्ता

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार ०९:२९

हंगकंग । फरक पुस्ताका बीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ । यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन् । यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल बाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन् । यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे ।
कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट भएको थियो । झण्डै साढे चार दसकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झण्डै तीन दसकदेखि हंगकंगमा शिक्षण पेशा अंगाल्दै आएका छन् ।
कुनै जमानामा त्रिविवि कीर्तिपुरको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्त (हाल संगीत नाट्य एकेडेमीका कुलपति)ले लेखेका लाइनलाई संगीतबद्ध पारेका उनै विक्रम गुरुङको निम्ति आइतबारको ‘नेपथ्य हंगकंग साँझ’ नोस्ताल्जिक बन्न पुग्यो ।
‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलोपटक सुन्दैछु,’ मञ्चबाट झण्डै सय मिटर परको अँध्यारो लहरमा सेतै फुलेका गुरुङ भनिरहेका थिए, ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उतिबेलाको मुड यसमा अटाएको पाएँ।’
संगीतमा एउटै ‘थिम’लाई पनि फरक फरक प्रस्तुतीले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट बनेको सुनाए । एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हंगकंगमै बसेर पनि त्यही क्षणमा पु¥याएको उनले थपे ।
‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकहरुसँग संवाद गरे, ‘शब्द र संगीतको यो रंगमा उता नेपालको माया भरिएको छ ।’
यहाँस्थित तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’ को यो प्रस्तुतीमा नेपथ्यका नयाँ पुराना गीतहरुको मिश्रण थियो ।
‘हंगकंगमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ,’ अढाइ दसकदेखि यतै बस्दै आएका यातायात व्यावसायी शेरबहादुर पुन भनिरहेका थिए, ‘तर, नेपथ्यको कार्यक्रम हेर्नेबेलामा भने बुढापाकादेखि यतै हुर्केका केटाकेटीको उत्तिकै भीड देख्दा रमाइलो लाग्यो ।’
शेरबहादुरका अनुसार घरमा समेत बाबुआमा र आफन्त आएको बेलाबाहेक आपसमा जहिल्यै चीनियाँ भाषा नै बोल्ने उनका छोराछोरी र आफूहरुले हेर्ने टेलिभिजन नै बेग्लाबेग्लै छ । बुढापाकाले नेपालबाट आउने टिभी शो र सिनेमा हेर्छन् भने छोराछोरीहरु अन्यत्र मुलुकका कार्यक्रम । ‘यस्तो अवस्थामा उनीहरुलाई नेपालसँग कसरी जोड्ने भनेर मुश्किल परिरहेको बेलामा नेपथ्यको प्रस्तुतीले सजिलो पारिदिएको छ,’ उनले थपे ।
आफैमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरुबेला नेपालबाट आउने प्रस्तोताहरुले पूर्ण रुपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’का दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याएको देखेरै आफू चकित परेको समेत शेरबहादुरले बताए ।
हंगकंगमै जन्मेकी र हाल बेलायतमा बसाइ सरेकी स्वेच्छा बस्नेत रंग रुप, चाल ढाल कतैबाट पनि नेपाली देखिएकी थिइनन् ।
‘छुट्टीमा यता आएको बेला काकाले नेपथ्यको शो छ भनेपछि हेर्न आएकी हुँ,’ आफूजस्तै किशोरीहरुको हुलबाट बोल्दै बेलायतको अक्सब्रिज कलेजमा ‘ट्राभल एण्ड टुरिज्म’ तेश्रो वर्ष पढ्दै गरेकी उनले भनिन्, ‘प्रायः अंग्रेजी र कोरियन ब्याण्डको शो हेर्ने गरेकोमा नेपथ्यको नाम पहिलेदेखि सुन्दै आएकोले कस्तो रहेछ भनेर हेर्न आएकी हुँ ।’
बेलायतमै पनि नेपथ्यको कार्यक्रम हुँदा हेर्न नपाएको धोको छुट्टीमा आएको बेला यहाँ पुरा भएको र आफूलाई असाध्यै रमाइलो लागेको उनले प्रतिक्रिया दिइन् ।
दुई घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले अत्यधिक मात्रामा नयाँ सिर्जना गरिएका गीतहरु सुनाएको थियो । त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमको अन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको ‘तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली’ बाट गरिएको थियो ।
कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्यको आगामी प्रस्तुती अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुनेछ ।