१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्थानीय तहको आजवाट औपचारिक काम सुरु

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार ०६:२७

काठमाडौं । स्थानीय तहले आजवाट औपचारिकरुपमा काम सुरु गर्दैछ । नयाँ संविधानअनुसार स्थानीय निकायबाट तहमा रुपान्तरण भएका गाउँ र नगरपालिका तथा उप र महानगरपालिकाले आजवाट औपचारिकरुपमा काम गर्न लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशभरका स्थानीय तहले सेवा दिन थाल्ने बताइएको छ ।
स्थानीय तह पुनर्सरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । जसमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका छन् । स्थानीय तहले काम थालेसँगै संघीयता कार्यान्वनय अघि बढ्ने छ । सरकारले स्थानीय तह सञ्चालनका लागि महानगरपालिकामा सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेबारी दिएको छ ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले चैत ३ गतेसम्म सबै तहमा कर्मचारी पु-याउन यसअघि नै निर्देशन दिइसकेको छ । स्थानीय विकास मन्त्रालयले यसअघि गाविसले गर्दै आएका काम वडाबाट सम्पादन गर्न निर्देशन दिएको छ । गाविसले गर्दै आएको नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता र कार्यालय प्रयोजनका लागि चाहिने अन्य सिफारिस वडाबाटै पाइने बताइएको छ ।