March 3, 2021
5:22 AM | 11:07 AM
विचार विश्लेषण

महिला होच्याउने उखान

  16/03/2017 मा प्रकाशित

विराट अनुपम
‘नक्कली स्वास्नीका बीसवटा पोइ, मर्ने बेलामा कोही न कोही ।’ जब कमजोर महिलाको कुरा निस्कन्छ, यस्ता उखान भनेर महिलालाई होच्याउने काम गरिन्छ । यसको प्रतिवाद गर्न खोजे भन्छन्, ‘यी पुराना उखान नभई बनेका होइनन् । हामीले बनाएको हो र ?’ तर, पुरुषको कुरा आउँदा भने फरक पर्छ । ‘मर्दका १० वटी’ उखानको एउटै प्रसङ्गमा महिलालाई नक्कली र पुरुषलाई मर्द उपनाम दिइएको छ । यसले प्रस्ट पार्छ कि उखानमा महिलालाई कसरी प्रस्तुत गरिएको छ । यो त एउटा उदाहरण मात्र हो । नेपाली समाजमा महिलालाई केन्द्रमा राखेर धेरै उखान स्थापित भएका छन् । त्यसले समग्र महिला अधिकार र उनीहरूको स्वाभिमानमा ठेस पु¥याएको छ । पछिल्लो समयमा उखानटुक्कामा महिलालाई हेपिएको विषयमा बहस हुन थालेको छ ।
उखान बोल्दाबोल्दै स्थापित भए । नेपाली शब्दसागरअनुसार ‘उखान’ शब्दको अर्थ लोकजीवनमा चलेका मीठा चुट्किला र शिक्षाप्रद उक्ति, लोकोक्ति, आहान, आख्यान भन्ने हुन्छ । यस्ता उखानमा थुप्रै ठाउँमा महिलालाई होच्याउने र तल्लो दर्जाको रूपमा प्रस्तुत गरेको पाइन्छ । उखानलाई लोकजीवनमा चलेका मीठा चुट्किला नै मान्दा पनि महिलालाई कुनै पनि स्वाभिमानी प्राणीको अर्थमा हेरेको देखिँदैन । यस्ता उखानले पनि महिलाको शरीर सजावटलाई बहुपुरुषकी श्रीमतीको अर्थमा व्याख्या गरेको छ । तर, चिटिक्क परेको पुरुषलाई भन्ने त्यही स्तरका उखान भने छैनन् । ‘यौनकर्मी महिलाका हजार पोइ’ भनिएको उखानजस्तै यौनकर्मी पुरुषका बारेमा भने नेपाली उखान मौन छन् ।
एकल महिलालाई अपमान गर्दै चलनचल्तीमा रहेका हाम्रा उखान अमानवीय लाग्छन् । एकल महिलाका सामान्य सामाजिक चालचलन र जीवनयापनका सवालमा समेत निर्मम प्रहार छ । जस्तै– राँडीलाई पोतेको रहर, नामर्दको भर नपर्नु, राँडीको भोज नखानु, विधवालाई ढोग्दा मजस्तै भएस् भन्छे रे, गरिबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नु, ग्राहक रत्याउनु, राँडी अत्याउनु । यस्ता उखानले महिलालाई तल्लोस्तरको भाषामा प्रस्तुत गरिएको छ । तर, विदुर पुरुषबारे यस्ता उखान लेखेको र बोलेको सुनिँदैन । डा. हंशपुरे सुवेदीको ‘उखानसङ्ग्रह’ तथा भरतजंग राणाको ‘भरत उखानसङ्ंग्रह’मा सङ्ग्रह गरिएका नेपाली उखानको विचार, भाव र अर्थ बुझ्ने हो भने थुप्रै लैङ्गिक रूपमा विभेद रहेका उखान छन् ।
उखानले छोराछोरीको हुर्काइमा समेत चरम विभेद गरेको छ । ‘छोरो पाल्नु सहरमा, छोरी पाल्नु कहरमा, दूध उम्ले अँगेनामा, छोरी उम्ले खाल्डोमा, जसका छोरा उसका धन, जसका वस्तु उसका वन, खोली बढे बटुवालाई पिर, छोरी बढे माइतीलाई पिर, आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष ।’ यस्ता उखानले महिला भनेका उपभोग्य वस्तु हुन् र उनीहरूको छुट्टै पहिचान छैन भन्ने देखाउ ँछ । प्रगतिमा समेत यस्ता उखानटुक्काले असर पार्दै आएको छ ।
– गुन्द्रुक पकाउनु र साली फकाउनुपर्दैन
– गुन्द्रुकको खानु झोल, कमारीको खानु मोल
–लट्ठी टेके भर, कान्छी ल्याए घर
नेपाली भाषाका निधि भनिने यस्ता उखानले महिला यो समाजका दोस्रो दर्जाका नागरिक हुन् भनेर वैधता दिन खोजेको भान हुन्छ । मौखिक परम्पराबाट आएका यस्ता विभेदपूर्ण उखानटुक्कालाई नेपाली शब्दकोशले स्थान दिनु दुःखद पक्ष हो । नेपाली भाषा-साहित्यका पारखीसमेत यो कुरा स्वीकार गर्छन् । ‘उखानले धेरै हदसम्म महिला÷एकल महिला÷असहाय महिलाका विपक्षमा अभिव्यक्ति दिएका छन्,’ इटहरीको जनता बहुमुखी क्याम्पसका नेपाली भाषा÷साहित्यका प्राध्यापक मदनराज बराल भन्छन्, ‘यी समतामूलक समाजको निर्माणका बाधक तत्व हुन् । त्यसैले शैक्षिक दृष्टिले यी उखान अनुपयुक्त छन् ।’
यस विषयमा लेख्दै आएका बरालका अनुसार नेपाली समाजको गति अगाडि बढिसकेकाले यस्ता उखान अब पाठ्यक्रमबाट हटाउनुपर्छ । यसरी विरोधको आवाज उठे पनि उखानमा पुनर्लेखन हुन सकेको छैन ।
पूर्वी नेपालको भाषा÷साहित्य क्षेत्रमा चिनिएका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेल नेपाली उखानमा अधिकांश पितृसत्ताको दृष्टिकोण पाइने बताउ ँछन् । ‘सामन्ती राज्यव्यवस्था र पितृसत्ताले महिलालाई छायामा पारेको विगतको सोच, समाज र सन्दर्भ देखाउने आँखीझ्यालजस्तै हुन् यस्ता विभेदकारी उखान,’ प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका प्रा.डा. पोखरेल भन्छन्, ‘यस्ता उखानले हाम्रो समाज कतिसम्म महिलाप्रति पूर्वाग्रही, अमानवीय र क्रूर थियो भन्ने प्रस्ट पार्छ ।’
महिलाको पक्षमा कलम चलाउने सम्झना वाग्ले भट्टराई पनि नेपाली उखान महिलाको सवालमा हदै विभेदकारी भएको बताउँछिन् । ‘पुरुषबारे आक्कलझुक्कलबाहेक त्यो स्तरको विभेद पाइँदैन जुन स्तरमा महिलामा विभेद गरिएको छ,’ लैङ्गिक शिक्षामै एमफिल थेसिस गरेकी भट्टराई भन्छिन्, ‘यसरी नेपाली समाजले महिलालाई हेर्ने तौरतरिका तथा मनोविज्ञान कठोर र असहिष्णु रहेको प्रमाण हुन् हाम्रो नेपाली भाषाका उखान र यी उखानले बोक्ने अन्तर्यहरू ।’
नेपाली उखानले नेपाली महिलामाथि हुने गरेका विभेद र हिंसाको तथ्यपरक प्रमाण बोकेको भन्दै आजको समाज, सरकार र सत्ताले त्यो बुझ्नुपर्ने उनको भनाइ छ । । भट्टराईको जस्तै विचार छ भाषाविद् तथा साहित्यकार प्रा.डा. बद्रीविशाल पोखरेलको पनि । ‘नेपाली महिला अब सीएनएन हिरो भएका छन्, विश्वकै साहसिक वर्ष व्यक्तित्व पनि भएका छन्, तर त्यो सबै स्तरमा पुग्न उनीहरूको घरदेखि समाज अनि समाजदेखि राष्ट्रसम्मको यात्राको बाटो एउटा पुरुषको तुलनामा पक्कै धेरै असहज थियो ।’ प्रा.डा. पोखरेल भन्छन्, ‘त्यो किन असहज भयो भने समाज अझै पूर्ण रूपमा पितृसत्ताबाट मुक्त भएको छैन । सतिप्रथाबाट आएको हाम्रो समाज अहिले सताउने प्रथामा आएको छ । एउटा छोरो कामबाट राति आयो भने एउटा मात्रै प्रश्न उठ्छ, तर एउटी छोरी सोही समयमा आउँदा थुप्रै प्रश्न उठ््छन् । छोरा ढिलो आएको प्रश्न घरमा मात्रै उठ्छ भने छोरी ढिलो आएको समाजमै उठ्छ ।’ नेपाली उखानले व्यक्त गरेका महिलामाथिका विभेदकारी कुरा अझै पनि समाजमा रहेको भन्दै त्यसको अन्त्य गर्न सबै लाग्नुपर्ने तर्क गर्दै प्रा.डा. पोखरेल भन्छन्, ‘महिला नै राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुनु मात्रै ठूलो कुरा होइन । ठूलो कुरा औसत महिलाले पनि पूर्ण महिला अधिकार र स्वतन्त्रताको हक पाउनु हो जुन हाम्रो समाजमा हुन सकेको छैन ।’
विराट, इटहरीका पत्रकार हुन् ।

प्रतिक्रिया