१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७३, शुक्रबार ०६:१६

धनुषा । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ ।
परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पु-याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताउनुभयो ।
आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ ।

धनुषाकै अर्का एकजनाको मलेसियामा रहस्यमय मृत्यु
यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।
धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् ।
मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिनुभयो । साथै सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए ।