भद्रा भन्डारी, नेतृ नेपाली कांगे्रस

महिला सशक्तीकरणबारे प्रशिक्षण दिन ७५ वटै जिल्ला पुगिसकेकी छन् भद्रा भण्डारी । राजनीतिक र समाजिक रूपमा महिला सचेत नभएसम्म समाजमा व्याप्त विभेद नहट्ने विचार राख्ने उनी नेपाली कांग्रेसको राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । बिहे गरेपछि छोराछोरी हुर्काउँदै अध्ययन पूरा गरेकी भण्डारी यतिबेला पीएचडीको तयारीमा समेत छिन् । उनीसँग खगेन्द्र भण्डारीले गरेको कुराकानी :

० कहिलेदेखि राजनीतिमा लाग्नुभयो ?
– म राजनीतिमा सानैदेखि लागेको हो, त्यतिबेला पार्टीकै सदस्यता लिएर होइन । म दस एघार वर्षको हुँदा बीपी कोइराला कार्यक्रममा सहभागी हुन रौतहट जानुभएको थियो । त्यो कार्यक्रममा उहाँलाई स्वागत गर्न पञ्चकन्याका रूपमा म पनि सहभागी थिएँ ।

० कहिलेतिर हो नि यो कुरा ?
– २०३८ सालतिर हो । सानै थिएँ । तर बीपी आउने भनेपछि ठूलो चर्चा थियो जिल्लामा । उहाँलाई देख्न पाइने भयो भनेर म पनि निकै खुसी थिएँ । उहाँ कांग्रेसको नेता हो भनेर त्यहीँ थाहा पाएँ ।

० बीपी देखेपछि कांग्रेस बन्नुभयो ?
– हो ।

० राजनीतिमा कसरी आउनुभयो ?
– मेरो गुरु उद्धव ढकाललाई पनि राजनीतिक गुरुका रूपमा लिन्छु म । उहाँले पढाउने सिलसिलामा राजनीतिक कुरा पनि सिकाउनुहुन्थ्यो । उहाँ राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । उहाँकै कारण म नेविसंघमा लागें ।

० नेविसंघको राजनीति कहाँबाट सुरु गर्नुभयो ?
– रौतहटमा स्कुल पढ्दादेखि नै नेविसंघमा आवद्ध भएँ । एसएलसी दिएपछि म वीरगञ्ज पढ्न गएँ । त्यहाँ हाम्रो नेता शुरेन्द्र चौधरी हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा हामीलाई राजनीति सिक्न धेरै सिकायो । उहाँको राम्रो प्रभाव थियो ।

० राजनीति चाहिँ कसरी अगाडि बढ्यो नि ?
– आइए पढ्दापढ्दै बिहे भयो । उहाँको घर रामेछाप भए पनि बारा बसाई सर्नुभएको थियो । बिहेपछि काठमाडौं आएँ । यहाँ केही समय भाडामा बस्यौं, तर मलाई भाडामा बस्न असहज भयो । माइतीको सहयोगमा काठमाडौंमा घर बनाएँ ।

० मागी बिहे हो ?
– उहाँ मेरो मामाको छिमेकी हुनुहुन्थ्यो । निकै भद्र मान्छे । मामाले भान्जीलाई यो मान्छेसँग विवाह गर्ने सोचाइ बनाउनुभएको रहेछ । पछि मामाले यो कुरा आमासँग भन्नुभयो । कुरा छिनेको एक घन्टामै इन्गेजमेन्ट भयो ।

० एक घन्टामै इन्गेजमेन्ट किन नि ?
– घरमा पनि बिहेका लागि धेरै प्रस्ताव आएका थिए । रिजेक्ट गर्दागर्दा साहै्र दिक्क भइसकेको थियो । मेरो गाउँमा कलेज पढ्ने म मात्रै महिला थिएँ । गाउँबाट टाढा होस्टलमा बसेर पढ्ने कुरा महिलाका लागि सहज थिएन । केटा भद्र भएपछि घरमा सबैले ओक भने ।

० श्रीमान् के गर्नुहुन्थ्यो ?
– उहाँ व्यवसाय गर्नुहुन्थ्यो ।

० राजनीतिबाहेक अरु के गर्नुहुन्छ ?
– १५ वर्षदेखि लायन्स क्लबमा आबद्ध छु । राजनीतिसँगै सामाजिक कार्यमा पनि संलग्न हुनुपर्छ भनेर लायन्समा जोडिएकी हुँ ।

० बिहेपछि राजनीति गर्न गाह्रो भएन ?
– वीरगञ्जपछि स्नातक पढ्न पद्मकन्या क्याम्पस भर्ना भएँ । छोराछोरी हुर्काउँदै पढाइलाई निरन्तरता दिएँ । श्रीमान्ले सहयोग गर्नुभयो । उहाँले पढ्नलाई जहिले पनि उत्प्रेरित गर्नुभयो । समाजशास्त्रमा त्रिचन्द्रबाट मास्टर्स गरें । पीएचडीको तयारीमा छु ।

० केमा पीएचडीमा गर्दै हुनुहुन्छ ?
– महिला सशक्तीकरणमा । बेनीबहादुर कार्की मेरो मामा हो । उहाँकै घरमा मेरो व्यवसाय छ । सुरुदेखि अहिलेसम्म उहाँकै घरमा व्यवसाय चलाइरहेकी छु । उहाँको घरमा कांग्रेसकै ठूल्ठूला नेताहरू आउँथे । नेताहरूका कुरा सुनेर पनि मलाई राजनीतिप्रति थप प्रेरित ग¥यो ।

० श्रीमान्को व्यवसायमा कत्तिको सहयोग गर्नुहुन्छ ?
– विहे गरेदेखि व्यवसायमा पनि छु । आर्थिक पाटो मैले हेर्छु ।

० छोराछोरी कति छन् ?
– एक छोरा, एक छोरी छन् । छोरी आस्था बी पपगायिका हुन् भने छोरा आशीष इन्जिनियर छ ।

० काठमाडौं बसेर राजनीति गर्नुहुन्छ ?
– काठमाडौंबाटै राजनीति गरिरहेकी छु । नियमित जिल्ला गइरहन हामी महिलालाई कहाँ सजिलो हुन्छ र ? हामी २०४४ सालदेखि काठमाडौंमा बसेको हो । श्रीमान् २०३९ सालदेखि यहाँ हुनुहन्छ । काठमाडौं क्षेत्र नं.२ बाट राजनीतिमा सक्रिय छु ।

० त्यो कम्युनिस्ट प्रभाव क्षेत्र होइन र ?
– कांग्रेस सधैं पराजित भएको क्षेत्र हो त्यो । २०७० सालको संविधानसभा चुनावमा हामी त्यो किल्ला भत्काउन सफल भयो । प्रतिमा गौतमलाई जिताउन म दिनरात सक्रिय भएकी थिएँ । राम्रो मत ल्याएर पनि हा¥यौं । उपचुनावमा हामीले त्यो हारलाई उल्टाउँदै कांग्रेसको झण्डा गाड्न सफल भयौं ।

० तपाई महिला संघमा हुनुहुन्छ ?
– म मेरो निर्वाचन क्षेत्रबाट महिला संघको महाधिवेशन प्रतिनिधि हो ।

० महिला संघको अधिवेशन हुन्छ त ?
– अब त हुनैपर्छ । लामो समय भइसक्यो अधिवेशन नभएको । पार्टीभन्दा पनि पुरानो संगठन हो महिला संघ । महिला संघ मंगलादेवी सिंहले २००४ सालमा स्थापना गरेको हो । नेपाली महिलाहरूका लािग यो संगठन आस्थाको धरोहर हो ।

० तपाईको तयारी के छ नि ?
– पार्टीले मेरो आवश्यक महसुस कति गर्छ, त्यहीअनुसार अघि बढ्ने हो । मेरो क्षमता र योग्यतालाइ पार्टीले विश्वास गरेर जुन जिम्मेवारी दिन्छ, त्यो जिम्मेवारी पूरा गर्न म तयार छु । महिला संघको कार्यक्रमको सिलसिलामा ७५ वटै जिल्ला पुगेकी छु । महिलाका समस्याहरूप्रति म जानकार छु ।

० कस्ता समस्या पाउनुभयो महिलाका ?
– म प्रशिक्षकका रूपमा देशभर घुमें । देशभरका महिलाका समस्यामा खासै तात्विक भिन्नता छैन । ठाउँअनुसार त्यसको मात्रा कम–बढी भन्ने हो । राजनीतिक रूपमा महिलाहरू सचेत हुँदै गएका छन् । आरक्षणको प्रावधानले पनि महिलालाई राजनीतिमा सहभागिता बढाउने काम गरेको छ ।

० महिला राजनीतिक रूपमा कत्तिको सक्षम छन् ?
– किन नहुनू । महिला सशक्तीकरण र लैंगिक विषयमा देशभर प्रशिक्षण दिने क्रममा एकसे एक महिला भेटाएको छु । कतिले अवसर पाएका छैनन् । उनीहरूलाई पार्टीले समेट्न नसकेको हो कि भन्ने मलाई लाग्छ । तराईका भित्री भागमा महिलाहरूको स्थिति सुधार्न समय लाग्छ, तर पहाडी क्षेत्रमा भने शिक्षामा पनि उनीहरू अगाडि छन् ।

० महिलालाई अगाडि ल्याउन के गर्नुपर्ला ?
– हाम्रो समाजिक संरचना नै दोषी छ । हामीले घरभित्रबाटै छोराछोरीबीच विभेद हटाउनु जरुरी छ । घरभित्रबाटै समान अवसर र हैसियत हामीले दियौं भने समाज आफै परिवर्तन हुन्छ । घरबाटै महिला पीडित छन् ।