६ बैशाख २०८१, बिहीबार
Follow Us

दाहाल-सी भेट तय, यी हुन् एजेन्डा

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार ०३:५२

काठमाडौ,प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा चैत ११ मा भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री दाहाल चैत १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको छ।
चीनको हेनान प्रान्तस्थित बोआओमा आयोजना हुने ‘एसियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयक छलफलमा दाहालले सहभागिता जनाउनेछन्। प्रधानमन्त्रीका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ। राष्ट्रपति सीसँगको भेटवार्तामा दाहालले चीनले अगाडि सारेको वान बेल्ट वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए।

वान बेल्ट वान रोड अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रस्ट धारणा व्यक्त गर्न सकिरहेको छैन। वान बेल्ट वान रोडमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जबाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ। ‘दुई राष्ट्रप्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ’, उच्च स्रोतले भन्यो। ती नेताका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउनेबारेमा पनि सैद्धान्तिक सहमति हुन सक्नेछ। यसअघि ०६५ सालमा दाहाल प्रधानमन्त्री भएका बेला शान्ति तथा मैत्री सन्धिको मस्यौदा आदानप्रदान गर्ने क्रममा सार्वजनिक भएपछि सम्झौता तुहिएको थियो।

प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको भेटवार्तामा नेपाल—चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका बेला नेपाल-चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो तर त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनुपर्ने कूटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन।

यी हुन् एजेन्डा
– वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुनसक्ने
– नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति गर्ने
– व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजाने
– विद्युत् आदानप्रदानका लागि प्रसारण लाइन निर्माणप्रक्रिया अगाडि बढाउने
– अन्तरदेशीय रेल्वे लाइन विस्तारप्रक्रिया अगाडि बढाउने
– चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने

तिब्बतको केरुङबाट अन्तरदेशीय रेल्वे लाइन विस्तार गरी काठमाडौं, पोखरा र लुम्बिनीसम्म लैजाने प्रक्रिया अगाडि बढाउने बारेमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच छलफल हुनेछ। चीनले तीन वर्षभित्र केरुङसम्म रेल्वे लाइन विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ। यसअघि चीनबाट नेपालमा रेल्वे लाइन विस्तार गर्ने र त्यसका लागि चीनले लगानी गर्नेबारेमा पटकपटक छलफल भए पनि प्रक्रिया अगाडि बढेको छैन । सी र दाहालबीच विकास र समृद्धिका लागि त्रिदेशीय अवधारणा अगाडि बढाउने उपाय खोज्नेबारेमा पनि थप छलफल हुनेछ।
– अन्नपूर्ण पोस्टबाट