१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ढुंगानालाई सीतादेवी ढकाल अनलाइन पत्रकारिता पुरस्कार प्रदान

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार ०८:२३

लन्डन । नागरिक न्यूज डटकमका संयोजक तथा अनलाइन पत्रकार कृष्ण ढुंगानालाई बेलायतमा स्थापना गरिएको स्वर्गीय सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको सो पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन् । यसअघि पहिलो पोष्ट डटकमका सम्पादक उमेश श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

अनलाइन मिडियामा कलम चलाउने एकजना पत्रकारलाई दुईदुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशी पाँच सय अमेरिकी डलर रहेको छ ।

यसअघि सीतादवी ढकाल प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी अनलाइन मिडियामा सकृय पत्रकारहरुसँग आवेदन माग गरेको थियो । समयसीमा भित्रप्राप्त आवेदनहरुमध्येबाट पुरस्कार छनोट निर्णायक समितिले पुरस्कारका लागि ढुंगानालाई छनौट गरेको हो। पत्रकारिता विषयमा स्नातकोत्तर गरेका ढुंगानासंग माइसंसार फाउण्डेसन, परेवा डटकम, राजधानी दैनिक लगायतमा काम गरेको अनुभव रहेको छ ।

यस वर्षको पुरस्कार सन २०१७ भित्र काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारका संस्थापक ढकालले बताए ।
बेलायतबाट सञ्चालित समाचार पोर्टल नेपाल ब्रिटेन डटकमका अध्यक्ष समेत रहेका ढकालले पछिल्लो पुस्तामा लोकप्रिय बन्दै गएको अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो सानो पुरस्कारले ठूलो हौसला मिल्ने विश्वास पनि व्यक्त गरे ।
13