१५ चैत्र २०८०, बिहीबार
Follow Us

सीमाङ्कनलाई थाती राखे चुनाव असम्भव : नेता यादव

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार १४:००

गौर । सङ्घीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सीमाङ्कनलाई थाती राखेर देशमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने ठोकुवा गर्नुभएको छ । रौतहट सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले माध्यमिक परीक्षा समाप्त भएपछि सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने बताउनुभयो ।
“अबको आन्दोलन मधेस केन्द्रित नभई देशव्यापी हुन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको आश्वासन दिएर मधेसीलाई ठगी गरेको उहाँको भनाइ थियो । पटकपटक संशोधनको झुठो बाचा गरेर प्रधानमन्त्रीले मधेसीलाई ठगेकाले वर्तमान सरकारले राष्ट्र र मधेसीको हितमा काम गर्न नसक्ने नेता यादवको आरोप थियो । पत्रकार सम्मेलनमा फोरमका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला अध्यक्ष रामनिवास यादव, पूर्व सांसद बबन सिंह, मोर्चाका नेता रेवन्त झालगायतको सहभागिता रहेको थियो ।