११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचन गराउन सरकारले खुट्टा कमाउनु हुँदैन: ओली

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०६:३४

नेपालगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ । सो दलको बाँके प्रचार विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पु-याउँछ”, उहाँको सुझाव थियो ।
उहाँले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको छ, यही अवस्थालाई दृष्टिगत गरी आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको हो भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट गर्नुभयो ।
पत्रकार सम्मेलनमा सो दलका महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोह¥याउँदै संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्छ भन्नुभयो ।