१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०६:३६

विराटनगर । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गर्नुभयो ।
आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पार्नुभयो । वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उहाँले निर्वाचन निर्धारित समयमै हुनेछ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।