१२ बैशाख २०८१, बुधबार
Follow Us

नयाँ वर्षमा ‘गुराँस उत्सव’

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०६:३७

बागलुङ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।
जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक दृष्टिकोणले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ ।
“घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ” – अध्यक्ष बस्नेतले भन्नुभयो । उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोहलगायतका कार्यक्रमको आयोजना गरिने भएको छ ।