१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन एशिया क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०९:१४

पुष्पराज कोइराला ।

क्वालालम्पुर (मलेसिया)— गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको छ। सम्मेलनको औपचारिक उद्घाटन परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आइतबार गरेका छन्। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालमा लगानीको प्रशस्त अवसर र सम्भावना रहेको बताए।

‘गैरआवासीय नेपालीहरुसँग भएको सीप र आर्थिक पूँजी नेपालमा लगानी गर्न सके कृषि, घरेलु तथा साना उद्योगको उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘नेपालको आयातमुखि अर्थतन्त्रलाई निरुत्साहित गर्न निर्यात व्यापार बढाउन सकिन्छ।’

‘नेपालका सैद्धान्तिक वैचारिक राजनीतिका कुरा धेरै भए,’ परराष्ट्रमन्त्री महतले भने, ‘अब विकासका कुरा गरौं। अब विकासबारे बहस होस्।’
आफूले पहिलादेखि नै मलेसियालगायत देशमा रोजगार गर्न जाने नेपालीका समस्याका विषयमा जानकार रहेको भन्दै परराष्ट्रमन्त्री भएपछि थप जानकार भएको दाबी गरे। आफ्नै देशको आर्थिक विकासपछि मात्रै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्याको दीर्घकालिन समाधान हुने उनको भनाइ थियो।

‘नेपालका सैद्धान्तिक वैचारिक राजनीतिका कुरा धेरै भए,’ उनले भने, ‘अब विकासका कुरा गरौं। अब विकासबारे बहस होस्।’ वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीको हर समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि धेरैजसो ऐन कानुनहरु भर्खर बनेको र संविधान भर्खरै जारी भएकोले नेपालमा लगानीका लागि निकै सहज अवसर र सम्भावना भएको बताए।

कार्यक्रममा मलेसियाका लागि नेपालका राजदूत निरञ्जनमान सिंह बस्नेतले २१ जनाको दरबन्दी रहेको मलेसियाको नेपाली दूतावासमा १७ जना कर्मचारी मात्र कार्यरत भए पनि आफूहरुले मलेसियामा रहेको नेपालीको समस्या समाधानमा सक्दो जोड दिएको बताए।

‘विभिन्न अभियोगमा मृत्युदण्डको सजाय तोक्न लागिएका र बन्दी बनाइएकाहरुको माफीका लागि पहल भइरहेछ,’ उनले भने, ‘मलेसियाको एउटा सञ्चार संस्थासँगको सहकार्यमा हरेक आईतबार ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने गरी नेपाली भाषामा साप्ताहिक रुपमा रेडियो कार्यक्रम शुरु गरिएको छ।’

मलेसियामा मृत्युदण्डको सजाय हुने गरी अभियोग लागेका र बन्दी बनाइएका नेपालीलाई छुटाउने विषयमा प्रक्रिया अघि बढाउन लागि नेपाल सरकारले ५० लाख रुपैयाँ दूताबासलाई पनि दिएको बताए ।

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष शेष घलेले मलेसिया करिब ६ लाख कर्मवीर नेपालीहरुको कर्मथलो भएकोले मलेसियालाई कम नआँक्न सरकार र गैरआवासीय नेपालीहरुलाई आग्रह गरे। मलेसियालाई सरकार र एनआरएनले नै पनि विगतमा हेयको दृष्टीले हेरिएको बताउँदै उनले त्यो गलत भएको बताए।

एनआरएन ७६ देशमा फैलिएको बताउँदै उनले मलेसियाबाट भारतपछि सबैभन्दा बढी रेमिट्यान्स नेपाल जाने गरेको बताए।

एनआरएनले गोरखाको लाप्राकमा बनाइएको एकीकृत नमुना बस्ती नेपालमा अहिलेसम्मकै उच्चस्तरको नमुना परियोजना भएको बताए। लाप्राकमा बनेको एकीकृत बस्ती छिटै सम्पन्न गर्नुपर्ने र गोरखाको लाप्राकमा बनेको बस्ती एक दिनमै निर्माण पूरा गर्नका लागि करिब एक लाख कामदार आवश्यक हुने उनले बताए।

‘नेपालमा सीप र पूँजी भित्र्याएर मातृभूमिलाई सक्षम तुल्याउन एनआरएन लागि परेको छ,’ उनले भने, ‘एनआरएनले काठमाडौंको शंखमुलस्थित बाग्मती किनारमा पार्क बनाएको छ’, बालुवाटारमा एनआरएनको आफ्नै भवन बनाउन लागेका छौं।’

कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई गरिबीबाट उन्मुक्त नपारेसम्म विश्वका जुनसुकै ठाउँमा रहे पनि गैरआवासीय नेपालीको इज्यत नबढ्ने बताए । नेपालमै रोजगारीको अवसर होस् र नेपालकै समृद्धि होस् भन्नका लागि नै एनआरएनको स्थापना गरिएको उनले बताए।

‘नेपाललाई समृद्ध बनाउने सपना पूरा नभएसम्म एनआरएन सक्रिय रुपमा अघि बढ्ने छ र अब छिट्छै नेपाल समृद्ध हुने पनि छ,’ उनले भने।

एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले अहिलेको विश्व ग्लोबल भिलेजको रुपमा आइरहेको अवस्थामा एनआरएनले पनि विश्वका हरेक क्षेत्रमा सक्रिय रुपमा अघि बढ्नु पर्ने र मातृभूमि नेपालको विकासका लागि सबै गैरआवासीयहरु सक्रिय हुनुपर्ने बताए।

शनिबार साँझबाट सुरु भएको २ दिने सम्मेलनमा क्षेत्रीय सम्मेलनमा एशिया प्रशान्तका क्षेत्रका १५ देशका करिब २०० गैरआवासीय नेपालीहरुको सहभागिता रहेको सम्मेलनको आयोजक गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ।