१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार १३:०१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास ९तेस्रो० मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ ।

त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ । नेपाली सेनाद्वारा आज तालिम केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति एवम् महासेनानी प्रयोगजंग राणाले शान्ति अभ्यास तीनमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने बताउनुभयो ।

उक्त अभ्यासमा एकहजार २४ जना विभिन्न देशका सेनाले भाग लिने पनि उहाँले जानकारी दिनुभयो । यसअघि सन् २०१३ मा भएको शान्ति अभ्यास दुईमा २३ मुलुकका सेनाले भाग लिएका थिए । सो तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिनेछ ।

यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनेछन् । स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ । उक्त तालिमको भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

श्रीलङ्काका सेना प्रमुख डि सिल्वा स्वदेश फिर्ता
यसैबीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका श्रीलङ्काका सेना प्रमुख डि सिल्वा आफ्नो छ दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनु भएको छ ।

उहाँलाई नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो । भ्रमणको सिलसिलामा सिल्वाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री बालकृष्ण खाण, प्रधानसेनापति क्षत्रीलगायत सेनाका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । सिल्वाको भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।