१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे सर्वोच्च बहस जारी

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७३, सोमबार ०७:०९

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ । रिट निवेदक डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालका तर्फबाट बहस सकिए पनि विपक्षीको बहस आज पनि हुने भएको छ । सरकारको तर्फबाट सरकारी वकिलले आज प्रतिरक्षा गरेपछि सर्वोच्चले आईजीपी विवादको अन्तिम फैसला गर्ने छ ।

रिट विवेदकका तर्फबाट शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट, बाबुराम कुँवर, हरि फुयाँल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । मुद्दाको आइतबारदेखि सुरु अन्तिम सुनुवाइका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गरेकी थिइन् ।

कार्कीको इजालसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य थिए । गत बिहीबार मुद्दा संयुक्त इजलासमा पेश भएपनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम आदेशजारी गर्ने न्यायाधीश समेतको इजलासमा पेसी तोकिएको भन्दै सुनुवाइ रोक्न माग गरेका थिए ।

महान्यायाधिवक्ता श्रेष्ठको माग अनुसार पेसी आइतबारका लागि सारिएको थियो । यसअघि फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेपछि अधिवक्ता कपिलदेव ढकालको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय कार्यान्वयन रोकेको थियो । सरकारको सिफारिस यथास्थितिमा राख्न आदेश भएकै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइले यसअघि फागुन १८ गते जारी अन्तरिम आदेश खारेज गरे चन्दको सिफारिस कार्यान्वनको बाटो खुल्नेछ । रिट जारी भएको अवस्थामा भने सरकारले नयाँ प्रक्रियाबाट फेरि प्रहरी प्रमुख सिफारिस गर्नुपर्नेछ ।