८ बैशाख २०८१, शनिबार
Follow Us

प्रस्तावित राजदूतविरुद्ध चार उजुरी

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७३, सोमबार १३:२४

काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । सरकारले लक्की शेर्पा(अस्ट्रेलिया), निरञ्जनकुमार थापा(इजरायल), शर्मिला पराजुली(ओमान), रमेशप्रसाद कोइराला(कतार), अर्जनुजङ्गबहादुर सिंह(गणतन्त्र कोरिया), प्रतिभा राणा(जापान), युवनाथ लम्साल(डेनमार्क), चोपलाल भुसाल(बङ्गलादेश), पदम सुन्दास(बहराइन), भीमकृष्ण उदास( म्यान्मा) विश्वम्भर प्याकुरेल(श्रीलङ्का) र महेन्द्रप्रसादसिंह राजपुत(साउदी अरेबिया)लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
प्रस्तावित राजदूतमध्ये पराजुली र कोइरालाविरुद्ध चार उजुरी परेको छ । समितिले आज उजुरीकर्तालाई बोलाएर उजुरीमा उल्लेख भएका विषयवस्तुको वास्तविकताबारे जानकारी लिएको थियो । समितिले राजदूतमा सिफारिस भएकामध्ये अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी लक्की शेर्पाको आज संसदीय सुनुवाइ गरेको थियो ।
सुनुवाइका क्रममा शेर्पाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो नाम राजदूतमा अनुमोदन भएका खण्डमा नेपालबाट अस्ट्रेलिया र त्यहाँबाट नेपालमा उच्चस्तरको भ्रमणका लागि पहल गर्ने विश्वास दिलाउनुभएको थियो । पछिल्लो समय नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया अध्ययनका लागि पहिलो गन्तव्य मुलुकका रुपमा रहेको छ । समितिले मङ्गलबार छ जनाको संसदीय सुनुवाइ गर्ने कार्यक्रम बनाएको छ ।