७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारमा जानु आत्महत्या गर्नु होः अध्यक्ष यादव

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार १५:१८

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताउनुभयो ।
वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आज बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा अध्यक्ष यादवले भन्नुभयो, “हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो ।”
उहाँले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने र अहिलेको अन्तक्र्रिया त्यसैको तयारी हो भन्नुभयो । “आन्दोलन कमजोर भयो भन्ने भ्रम नराखौँ, यो अन्तक्र्रिया आन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान छाडेर तल झरेका छैनौँैँ”– अध्यक्ष यादवले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले गठबन्धनको अहिंसात्मक आन्दोलनले सफलता प्राप्त गरेको र यस किसिमको आन्दोलन स्वभावैले लामो तर परिणाम दुरगामी हुने भएकाले आन्दोलन शिथिल भयो भनेर निरास नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अन्तक्र्रियामा सहभागी बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिले गठबन्धनको आन्दोलनले उचाइ लिएका सन्दर्भमा सत्ताको प्रलोभनमा परी मुद्दा छाडेर सरकारमा नजान र गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान सुझाए ।
राजनीतिक विश्लेषकद्वय कृष्ण हाछेथु, तुलानारायण साह, पूर्वराजदूत विजयकान्त कर्ण, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, अधिवक्ता सुरेन्द्र महतो र साहित्यकार धीरेन्द्र प्रेमर्सिले मुद्दा सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका खण्डमा मात्र सरकारमा जान उपयुक्त हुने धारणा राखेका थिए ।
त्यसैगरी नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले गठबन्धनका नेताले लोभ र इगोमा नपरी आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्नुभयो । तराई मधेस–लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन र मधेसी मोर्चाबीच कुनै मतभेद नरहेको बताउनुभयो ।