१५ चैत्र २०८०, बिहीबार
Follow Us

९ वुँदे निर्णयहरु जारी गर्दै एनआरएन एशिया क्षेत्रीय बैसक सम्पन्न (पूर्णपाठ)

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार १०:१०

क्वालालम्पुरमा सम्पन्न गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक आईतवार ९ वुदे निर्णयहरु जारी गर्दै सम्पन्न भएको छ । शनिवार देखी शुरु भएको सम्मेलन आइतवार सम्पन्न भएको थियो ।

१. मलेसियाको क्वालालम्पुरमा नेपालबाट आमन्त्रित माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा ‘दक्ष जनशक्ति, उद्यमशीलता संमृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित विभिन्न १७ देशका १ सय ५० प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रिय पांचौं वैठक (मार्च १८ देखि १९) सम्पन्न भयो।

२. मध्यपूर्व र मलेसिया लगायत विभिन्न गन्तव्य मुलुकहरुमा बैदेशिक रोजगारमा विद्यमान ठगी, अनियमितता, अपारदर्शिताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र न्यायपूर्ण एवं सुविधायुक्त बनाउन न्युनतम तलब, फ्रि भिसा फ्रि–टिकट लगायतका सरकारी निर्णयसहित मौजुदा कानुनको अक्षरसः कार्यान्वयन गराउन र दण्डहिनताको अन्त्य गरी पीडित कामदारहरुको शीघ्र उद्धार, न्याय र क्षतिपूर्तिको सुनिश्चिताको लागि आवश्यक कानुन (संशोधन), स्रोत र संयन्त्रको विकासमा नेपाल सरकारसँग संस्थागत सहकार्य गर्न अन्र्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गर्ने निर्णय गरियो।

३. मलेसिया, थाइल्याण्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मुलका बासिन्दाहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो।

४. वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई कतिपय नेपाली मूलका नागरिकहरुले नै गरिआएको शोषण र ठगी कम गर्न सम्बन्धित गन्तव्य मुलुकको नेपाली राजदूतावास र संघको सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत् पहल गर्ने निर्णय गरियो।

५. नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन गैरआवासीय नेपालीहरुले नेपालमा पैसा पठाउँदा बैंकिङ च्यानल मात्र प्रयोग गर्न अपिल गर्ने निर्णय गरियो। साथै भूकम्पपछिको पुनर्निर्माण शुरु भइरहेको अवस्थामा देशमा निर्माण क्षेत्रका दक्ष जनशक्तिको ठूलो खाँचो देखिएको कारणले उक्त क्षेत्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई नेपाल फर्कनको लागि प्रोत्साहन गर्ने निर्णय गरियो।

६. मलेसियाबासी नेपालीहरुको अंग्रेजी भाषा तथा दक्षता विकासको लागि मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष दातो प्रदिप कुक्रेजाले मलेसियामा व्यक्तिगत रुपमा स्कूल संचालन गरी निशुल्क पढाई कक्षा संचालन गर्ने निर्णयलाई सहर्ष धन्यवादसहित उक्त योजनाको लागि राष्ट्रिय समन्वय परिषद मलेसिया र उक्त काउन्सिलबीच सम्झौता गर्ने निर्णय गरियो।

७. वैदेशिक रोजगारमा रहेका थोरै कमाई भएका नेपालीहरुको सुरक्षित लगानीका निम्ति उपयुक्त क्षेत्र पहिचान गर्दै सामूहिक लगानीको प्रोत्साहन गरी साना, मझौला तथा ठूला उद्योगहरुमा साथै उत्पादनशील क्षेत्रहरुमा लगानी गर्न प्रोत्साहन गर्ने निर्णय गरियो।

८. वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई संचय कोष प्रदान गर्ने विधेयकको नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै कर्मचारी संचय कोषसँग सहकार्य गरी यथासिघ्र सम्पूर्ण वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई संचयकोष प्रदान गर्न सहकार्य गर्ने निर्णय गरियो।

९. मलेसियामा समस्यामा परेका नेपालीहरुको उद्धार, सहयोगका लागि राष्ट्रिय समन्वय समिति मलेसियाद्वारा स्थापना गरिएको कल्याणकारी कोषलाई स्वागत गर्दै उक्त कोषलाई प्रवर्द्धन र प्रभावकारी बनाउने साथै यस सम्मेलनबाट बचत हुन आएको रकम उक्त कोषमै दिने निर्णय गरियो।