४ बैशाख २०८१, मंगलवार
Follow Us

जुवाखालबाट आठ पक्राउ

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०६:०६

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरकोे टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ । प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकालाई म्याद थप गरेर आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

लागुऔषधसहित पाँचजना पक्राउ
यसैगरी, महानगरीय प्रहरी वृत्त ठिमीले विभिन्न नामका अवैध लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–२ बोडे बस्ने ३० वर्षीया लक्ष्मी श्रेष्ठ (अनिता), भक्तपुर नगरपालिका–३ बस्ने २२ वर्षीय लक्ष्मण कर्माचार्य रहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
त्यसैगरी लिसिखु–९ सिन्धुपाल्चोक घर भई मध्यपुरठिमी बोडे बस्ने २३ वर्षीय नारायण उप्रेती, मध्यपुरठिमी बोडे–२ का २२ वर्षीय निरोज कर्माचार्य, बोडे–५ का २४ वर्षीय राकेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ६ वर्षअघि पनि लागुऔषध बिक्री–वितरणमा प्रहरीले पक्राउ गरी कारबाही भोगेकी लक्ष्मी श्रेष्ठले वीरगन्जबाट आगुऔषध ल्याउने र लक्ष्मण कर्माचार्यले बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उप्रेती, कर्माचार्य र महर्जनलाई भने लागुऔषध खरिद गरी सेवन गर्ने गरेको अभियोगमा पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो ।