६ चैत्र २०८०, मंगलवार
Follow Us

न्यायपालिका अराजक भयो, न्यायलयमा कालो धब्बा लाग्यो

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०६:३०

shekhar-koiralaडा. शेखर कोइराला, कांग्रेस नेता

नेपाली कांगे्रसका नेता डा. शेखर कोइरालाले न्यायलय स्वच्छाचारी र अराजक बन्दै गएको निष्कर्ष निकालेका छन् । यो स्वच्छाचारी निर्णयले न्यायलयमा कालो धब्बा लागेको नेता कोइरालाले बताए । यस्तै अराजकता मौलाउने हो भने राजनीतिले नयाँ कोर्ष लिने उनले बताए । पार्टीभित्रको अन्तरसंघर्ष, वर्तमान राजनीतिक अवस्थाबारे डा. कोइरालासँग गरिएको कुराकानी यस्तो छ–

० पार्टीे पद्धतिअनुसार चलेको छ भनेर आलोचना भइरहेको छ त ?
– आलोचना गरेर मात्र पार्टी ठीक हुने होइन, नेपाली कांगे्रस पनि अलमलिएको म देखिरहेको छु । कांगे्रसभित्र गिरिजाबाबुको टावरिङ पर्नालिटीले सबैलाई समेटेर हिड्नु भएको थियो । त्यो अभाव अहिले खड्किएको छ । निर्वाचनमा प्रतिस्पर्धा भएका बेला गुट उपगुट हुन्छ, त्यसपछि समाप्त हुनुपर्ने हो । कांगे्रसभित्रै पनि वैचारिक लडाइँ लड्नुपर्ने हो । अहिले गुटको मिटिङ बसेर यो मान्छौं, यो मान्दैनौं भन्दै अगाडि गइरहेको छ । नेपाली कांगे्रस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ ।

० राजनीतिक कोर्ष अहिले पनि जोखिमै छ ?
– अहिले हेर्दा जोखिम बढेर गएको छ, अहिले हामी स्थानीय तहको निर्वाचनको संघारमा छौं, तर त्यसलाई मूर्तरुप दिन मधेशी मोर्चालाई हामीले साथ लिन सकेका छैनौं । संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रतिपक्षीले अड्काइरहेको छ । प्रतिपक्षी दल एमाले संसदीय व्यवस्था नमान्ने अराजक पार्टी हो ।

० अराजकलाई कसले प्रश्रय दियो ?
– आईजी केशमा अहिले सर्वोच्च अदालतको निर्णय हेर्नुहोस्, न विधिविधान, न कानुनसम्मत न न्यायसंगत छ । जसले स्टेअर्डर दिनुभएको छ, उहाँहरु नै पूर्ण इजलासमा बस्नु भयो, उहाँहरुले नै सरकारको निर्णय उल्टाउनुभयो । यसले के बुझाउँछ भने न्यायापालिका अराजकतातिर गइरहेको छ । नेपालको इतिहासमा न्यायपालिकाका लागि यो कालो धब्बा हो ।

० शक्ति पृथकीकरणमा त्यस्तो टसललाई राजनीतिक रुपमा कसरी हेर्ने ?
– न्यायपालिकालाई हामीले विश्वास गरेकै छ नि । प्रधानन्यायाधीशले रिट हेर्नेभो, छलफल अगाडि बढाउनुभयो, अन्य दुई न्यायाधीशलाई पनि राख्नुभयो । उहाँहरुले पनि सक्नुभएन । जसले रिटमा छलफल गरिसकेका छन्, तिनीहरुलाई नै पूर्णइजलासमा ल्याउँदा विधिसम्मत भएन । ती व्यक्तिले कसरी न्याय दिन्छन् ?

० पार्टीभित्र गुट मौलाउँदै गएकाले ठूलो पार्टी हुँदाहुँदै पनि समृद्धितिर अघि बढ्न सकेन नि ?
– तपाईंले भनेको पनि ठीकै हो, कांग्रेस कमजोर भयो लोकतन्त्र कमजोर हुन्छ । नेपाली कांगे्रस एक ढिक्का भएर अघि बढेको भए निर्वाचन आयोग, सर्वोच्च अदालतले जेसुकै निर्णय गरोस तर पद्धति बसाल्नुपर्छ । अदालतले पद्धति नबसाल्ने हो भने कसले बसाउँछ ? कांगे्रस यस्तै क्रियाकलापविरुद्ध लडेको हो । हामी गुट उपगुटमा विभाजन भएर हाम्रा मानिसलाई च्याप्न थालियो भने यही अवस्था आउँछ ।