१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अमेरिका संयोजक सोनाम लामाद्वारा ‘कीर्ते पत्र’ जारी

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार १३:००

लण्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने सातौं सम्मेलन नजिकिदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समितिको चुनावी पारो चढ्दै गएको छ । एनआरएनका कतिपय केन्द्रीय नेताहरु समेत राष्ट्रिय निर्वाचनको पक्ष र विपक्षमा खुलेर लाग्न थालेको भेटिन्छ । कतिपयले आफू अनुकूल राष्ट्रिय अध्यक्षलाई जिताउन संघको विधान र मर्यादा ख्याल नगरी पत्र जारी गरेको समेत भेटियो ।

यसैबीच गैरआवासीय नेपाली संघ अमेरिका संयोजक सोनाम लामाले संघको विधान र मर्यादा विपरित पत्र जारी गरेर एनआरएन अमेरिकामा आफू अनुकूल अध्यक्ष ल्याउने प्रयास गरेको प्रमाण नेपाल ब्रिटेन डट कमले फेला पारेको छ ।

लामाले गत सोमबार ‘स्पष्ट पारिएको सम्बन्धमा’ भन्दै गैरआवासीय नेपाली संघको विधान आफू अनुकूल व्याख्या गरेर पत्र लेखेका छन् । उनले गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षको उम्मेद्वार सम्बन्धमा विभिन्न सञ्चार माध्याम र समाजमा शंका उपशंका उब्जिएको भन्दै ध्यान आकर्षण भएको भनी विज्ञप्ति जारी गरेका छन् ।

उनको विज्ञप्तिमा गैरआवासीय नेपाली संघ अमेरिको स्थापना २०१० पछि भएको झुठो विवरण सार्वजानिक गरेका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनका प्रमुख दावेदार गौरी जोशीको उम्मेद्वारीलाई रोक्न लामाले सो पत्र जारी गरेको हुनसक्ने बताइएको छ ।

एनआरएन अमेरिकाको स्थापना २१ जनवरी २००६ मा भएको प्रमाण
एनआरएन अमेरिकाको स्थापना २१ जनवरी २००६ मा भएको प्रमाण

गैरआवासीय नेपाली संघको सचिवालयबाट प्राप्त दस्तावेज अनुसार एनआरएन अमेरिकाको स्थापना २१ जनवरी २००६ मा भएको हो । गैरआवासीय नेपाली संघको रेकर्ड अनुसार डा. अम्बिका अधिकारीको संयोजकत्व र सुमनराज तिमिल्सीना सहसंयोजक रहेको राष्ट्रिय समिति गठन भएको थियो ।

लामाले गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालनसम्वन्धी नियमावली २०१३ (२०१७ संशोधन सहित) दफा २४ को धारा ४.६ अनुसार (राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उम्मेद्वार बन्न नीज राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक कार्यकाल काम गरेको हुनुपर्ने छ, भन्ने स्पष्ट व्यवस्था भएको प्रष्ट पार्न खोजेका छन् । तर गैरआवासीय नेपाली संघको विधानको व्याख्या गर्ने अधिकार भने विधान समितिमा मात्र निहीत छ ।

संघका एक पूर्वपदाधिकारी भने संघको विधान भनेको जसले पायो उसैले व्याख्या गर्ने कुरा होइन, संघका आफ्नै परम्परा र विधि छन् । उनले आवश्यक परेमा प्रकृयागत रुपमा संघको विधानमा छलफल गरेर निकाश निकाल्न सकिने बताए ।

लामाद्धारा जारी किर्ते पत्र
लामाद्धारा जारी किर्ते पत्र

लामाले संघको लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरेको भेटियो । गैरआवासीय नेपाली संघको नेतृत्व शेष घलेले लिएपछि संघलाई संस्थागत बनाउने प्रयास स्वरुप केन्द्रीय नेताद्वारा जारी पत्रलाई सचिवालयबाट चलानी गरेर मात्र सार्वजानिक गर्ने परम्परा विपरित लामाले कीर्ते लेटर प्याड बनाए पत्र जारी गरेका छन् ।

गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका उम्मेद्वारीसमेत बन्ने आकल गरिएका लामामाथि संघभित्र किर्तै काम गरेको अभियोगमा अनुशासनको कारवाही हुनसक्ने बताइएको छ ।