६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार ०७:१३

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गर्नु भएको छ । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ पछिको सबभन्दा भयावह घटना मानिएको छ ।
आक्रमणको घटनापश्चात् बेलायती प्रधानमन्त्रीको निवास – टेन डाउनिङ्ग स्ट्रिट बाहिरबाट पहिलो पटक सार्वजनिक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मेले बिकृत मनस्थितिको दानव वा नराधमले कायरता पूर्वक यस्तो आक्रमण गरेको भन्नु भएको छ । सो सम्बोधन गर्नुपूर्व प्रधानमन्त्री मे बेलायती उच्च सुरक्षाकर्मी एवं सुरक्षा सल्लाहकारहरु सँगको एक आपत्कालीन बैठकमा सहभागी हुनुहुन्थ्यो ।
प्रहरीको बहादुरीले धन जनको थप नोक्सानी हुन नपाएको उल्लेख गर्दै प्रधानमन्त्री मेले आतङ्ककारी विरुद्ध अति शीघ्र र वीरतापूर्वक लडी कत्र्तव्य पालनको क्रममा ज्यान गुमाउन पुगेका अमर प्रहरी किथ पामरलाई हार्दिक श्रद्धान्जलि ब्यक्त गर्नुभयो ।
साथै उहाँले बेलायती प्रहरीको बहादुरीको प्रशंसा गर्नुका साथै राष्ट्रको वर्तमान सुरक्षा प्रणालीमा आएका चुनौतीको चर्चा गर्दै सुरक्षा ब्यवस्थापन सबल र सुदृढ बनाउन सरकारले पर्याप्त प्रयासहरु अपनाएकाले अब ढुक्क हुन पनि सबै सँग आग्रह गर्नु भयो ।
छिटपुट रुपमा भएको, सोच्दै नसोचेको यस्तो घटनाबाट बिचलित नहुन र यसैलाई उदाहरण मानी बेलायती सुरक्षा ब्यबस्था कमोजर रहेको नठान्न सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री मेले आतङ्ककारीले जानाजानी आक्रमणको घटनास्थल संसद्भवन बाहिर चयन गरेको उल्लेख गर्दै यो एक संयोग मात्र नभएको बताउनु भयो ।
ूविश्वका सबै प्रजातन्त्र प्रेमीहरुका आस्थाको बिन्दु, विश्वमा सर्वाधिक चर्चित वेस्टमिन्स्टर मार्गमा अवस्थित संसारको सबैभन्दा प्राचीन संसद् भवन, हामी बेलायतीहरुको मुटुको केन्द्रिय धड्कन नजिकै पारेर आतङ्ककारीले निर्धक्क आक्रमण गरी चुनौती दिएका छन् ।
यसबाट हामी बिचलित हुँदैनौ अपितु, आतङ्कबाद विरुद्ध लड्ने हाम्रो आत्मशक्ति अझै बलिष्ठ बनाई यस्ता कायरतापूर्ण र घिनलाग्दा कुकर्महरु परास्त गर्नेछौं भन्नुहुँदै प्रधान मन्त्री मेले भोलिदेखि संसद्का सबै सत्र र बैठकहरु यथावत्, सामान्यरुपमा चल्नेछन्, आम लन्डनवासीहरु यथावत् आ–आफ्ना जागिर, ब्यापार, ब्यबसाय, काम धाममा लाग्ने छन् ।
सदा झैं बाधा ब्यवधानरहित जीवन चलायमान गर्नेछन्, बाहिरबाट प्रजातन्त्रको केन्द्रबिन्दु यस महानगरी घुम्न आएका विश्वभरका अतिथिहरु ढुक्क भएर घुमघाम गर्नेछन्, आ–आफ्ना रेल, बिमान वा जहाजमा सदा झैं सुरक्षित यात्रा गर्ने छन् ।
आतङ्कबादलाई कदापि बेलायतमा प्रवेश गर्न नदिन हामी सबै एकढिक्का भई लाग्नेछौं, साथै कुनै पनि नागरिकले अर्को नागरिकउपर आशङ्का, घृणा, रिस, राग र द्वेष नराखी यथावत् मित्रवत् ब्यबहार गर्नेछौंैं, कसैले हामीलाई फुटाउन, जुधाउन, बजाउन सक्ने छैनू भन्नु भएको छ ।