१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अमेरिकामा १६ हजार सदस्य, १८१ जना प्रतिनिधी चयन हुने

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार १५:३८

होम लम्साल । न्यूयोर्क – आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । याे सँगै अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठूलो शाखा बनेको छ।

यसअघि १० हजार ६ सय सदस्यका साथ एनआरएनकै सबैभन्दा ठूलो च्याप्टर बनेको अमेरिकामा गत वर्षको तुलनामा यसपटक सदस्यता आकांक्षीको संख्या ६ हजार दुई सय ८१ ले बढेको हो। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलका अनुसार भेरिफाई गर्न बाँकी भएकोले त्यस संख्यामा केही घट्न सक्ने बताएका छन्। सदस्यता भेरिफाई गर्नका लागि महासचिव तिलक श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय एक समिति गठन भएको छ।

छानबिन समितिमा सीपी पौडेल, प्रमोद सिटौला, हरिहर दाहाल, सोनाम लामा, विनोद तिवारी र नवराज खड्का रहेका छन्। सो समितिले मार्च अन्तिममा मतदाता बन्न योग्यको सूचि कार्यसमितिलाई बुझाउने छ।

अमेरिकामा २ लाख ५० हजार भन्दा बढी नेपाली रहेको अनुमान छ। एनआरएन अमेरिका संसारकै सबैभन्दा ठूला एनआरएन च्याप्टर भएसँगै एनआरएनको आइसीसीमा महत्वपूर्ण पदमा सहभागिता पाउनु पर्ने आवाज उठ्न थालेको छ। एनआरएन अमेरिका क्षेत्रका सहसंयोजक एवं सियाटलका वाणिज्य दूत समेत रहेका एसी शेर्पाले भने संसारकै सबै भन्दा ठूलो एनआरएन भएसँगै अबको एनआरएनमा हामीले आइसीसीमा महत्वपूर्ण पद पाउनु जरुरी छ। उनका अनुसार अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र आफू मलेसियाको क्षेत्रीय संम्मेलनमा समेत नगइकन सदस्यता वितरणमा खटेकोले यति धेरै सदस्यता थपिएकोे दावी गरे।

सन् २००६ मा औपचारिक रुपमा एनआरएन अमेरिकालाई आइसीसीले मान्यता दिएपछि एनआरएनमा नेपालीहरूको बढ्दो मोह देखिन्छ । एनआरएन अमेरिकामा करमुक्त ५०१ सी अन्तर्गत दर्ता भएको संस्था हो। सदस्यताका आवेदन तथा नविकरणका लागि आवेदन गर्ने अन्तिम मिति गत मार्च १५ तारिक तोकिए पनि सफ्टवेयर नै जाम भएको प्राविधिक कारण देखाउँदै चार दिन म्याद बढाइएका थियो । थपिएका यी चार दिनमा पाँच हजारको हाराहारीमा सदस्यता थपिएको थियो। उता प्रमुख निर्वाचन अधिकृत बन्दिता शर्माले निर्वाचनका लागि आवश्यक कामहरू भैरहेको बताइन्।

चुनावमा नेतृत्व आकांक्षीहरूको संख्या ठूलो भएपछि सदस्यता बढाउ अभियान नै सञ्चालन गरेर आकांक्षीहरू विभिन्न राज्यमा खटिएका थिए। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको संख्यामा वृद्धि हुँदै गएको छ। साधारण सदस्यताको तुलनामा केन्द्रमा पठाइने केन्द्रीय प्रतिनिधि पनि सबैभन्दा धेरै अमेरिकाबाट नै सहभागी हुनेछन्।

गैरआवासीय नेपाली संघको सन् २०१५ अक्टोवरमा काठमाडौंमा सम्पन्न ७ औं महाधिवेशनले पारित गरेको विधानलाई परराष्ट्र मन्त्रालयले केही महिना अघि स्वीकृति दिएपछि विधानमा केही परिवर्तन भएको छ।

विधान परिवर्तन

नयाँ संशोधित विधानअनुरुप संघको सांगठनिक संरचनामा केही नयाँ पद सिर्जना गरिएको छ । गैरआवासीय नेपाली संघको विधान संशोधन समितिका संयोजक डा. हेमराज शर्माका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन समिति (एनसीसी) को अध्यक्ष बन्नसमेत विधानले योग्यता तोकेको छ ।

राष्ट्रिय अध्यक्ष बन्न संघको अन्तर्राष्ट्रिय परिषद वा राष्ट्रिय समितिमा अनिवार्य एक कार्यकाल काम गरेको हुनुपर्ने छ । यो प्रावधान नयाँ गठित राष्ट्रिय समितिमा भने लागू हुने छैन् । ३ कार्यकाल समाप्त भइसकेका राष्ट्रिय समन्वय समितिलाई भने यो प्रावधान अनिवार्य लागू हुनेछ ।

संशोधित विधानअनुसार उपाध्यक्ष ३ (महिलासहित), महासचिव १, सचिव २, कोषाध्यक्ष १, सह–कोषाध्यक्ष एकजना रहने व्यवस्था गरिएको छ । त्यस्तै हरेक क्षेत्रबाट एक एक जनाको प्रतिनिधित्व रहने गरी ६–६ जना महिला उपसंयोजक तथा युवा उपसंयोजकको पद सिर्जना गरिएको छ । संशोधित विधानमा दस वा सोभन्दा बढी राष्ट्रिय समन्वय समिति भएको क्षेत्रमा थप एकजना क्षेत्रीय उपसंयोजक निर्वाचित हुने व्यवस्था गरिएको छ । यस प्रावधान अनुसार अमेरिका क्षेत्रमा लागु हुने देखिन्छ । नयाँ प्रावधानले एसिया र अफ्रिका क्षेत्रमा थप १ जना उपसंयोजक थपिने भएको छ । संघले बढीमा ११ जना सल्लाहाकार र २१ जना केन्द्रीय सदस्यको मनोनयन हुने व्यवस्थासमेत संशोधित विधानले गरेको छ ।

आगामी अक्टोवर १४ देखि काठमाडौंमा हुने ८ औं महाअधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । यसअघि गैरआवासीय नेपाली संघका ७४ देशमा छरिएका राष्ट्रिय समितिले सेप्टेम्वर १५ तारिखभित्र राष्ट्रिय अधिवेशन अनिवार्य गरिसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ।

महाधिवेशन तथा विश्व सम्मेलनमा एक आइसीसीबाट साधारण सदस्य संख्याको आधारमा निर्धारण हुनेछ । अमेरिकाको साधारण सदस्य संख्याको आधारमा एक सय ८१ जना महाधिवेसन प्रतिनिधि र ८ जना आइसीसी सदस्य बन्नेछन । त्यसैको आधारमा केन्द्रीय नेतृत्व छानिने भएकोले पनि अमेरिका भूमिका निकै प्रभावशाली एवं निर्णयक हुने निश्चित छ ।