६ चैत्र २०८०, मंगलवार
Follow Us

लन्डन आक्रमणको आईएसद्वारा जिम्मेवारी लियो

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ०६:२७

लन्डन । इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ । आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले आक्रमणको जिम्मेवारी लिएको हो ।
अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, “आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।”सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत अधिकारीलाई जानकारी रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले आक्रमणकारी बेलायती सुरक्षा सेवाद्वा हिंसात्मक आतङ्कवादी आक्रमण गराउन सक्ने भनी सुरक्षा अधिकारीबाट विगतमा गरिएका अनुसन्धानमा ल्याइएका व्यक्ति भएको बताउनुभयो ।

महारानीद्वारा गहिरो समवेदना व्यक्त
बेलायती महारानी एलिजावेथ द्वित्तीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पिडित सवैप्रति ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ । बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
“म यस दुखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पिडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु,” महारानी एलिजावेथ द्वित्तीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारेमो दिएको पहिलो प्रतिक्रियामा बताउनुभएको छ ।
बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । नेपाली समय अनुसार बुधवार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएका लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराउनुभएको थियो ।