६ चैत्र २०८०, मंगलवार
Follow Us

बैतडीमा टाउको नभएको बच्चा जन्मिने वित्तिकै मृत्यु

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ०६:३३

बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् । मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो । जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ नर्स महतोले भन्नुभयो, “आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिने बित्तिकै बच्चाको मृत्यु भएको छ ।”
सुनिताको बच्चाको जन्म भने सामान्यरुपमा नै भएको तर बच्चाको जन्म भइसकेपछि अत्यधिक रक्तस्राव भएको अस्पताल स्रोतले बताएको छ । बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भएपनि सुनिताको कोही पनि नआएका स्टार्फ नर्स महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, “घरपरिवार तथा आफन्त कोही नआउँदा रिफर गर्न पनि गाह्रो भएको थियो ।” सुनिताको भने अत्यधिक रक्तस्राव भएकाले बिहीबार बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएको छ ।
पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदाखेरी नै बच्चाको टाउको नभएको भनेर भने पनि आर्थिक अवस्था कमजोर हुँदा बाहिर जान नसकेको बताइएको छ । आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीयवासी अर्जुन कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले बच्चाको टाउको नभएको जानकारी दिएपनि धामीझाँक्रीको भरमा परेर अस्पताल नगएका हुन् ।” सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारत रहनुभएको छ । सुनिताले यसपटक दोस्रो बच्चाका रुपमा जन्म दिएकी हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्स–रे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताउनुभयो ।
“गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधि सेवन गर्नु हँुदैन”, उहाँले भन्नुभयो, “केही औषधि सेवन गरेको हुनसक्छ ।” औषधि सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउकाको नभएको हुनसक्ने भएपनि यो अहिलेसम्म पुष्टि नभएको उहाँले बताउनुभयो ।
बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा रिफर गरिएकी सुनिताको डडेल्धुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डाक्टर नवराज जोशीले जानकारी दिनुभयो ।