६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालमै पहिलो लक्षचण्डी महायज्ञ चैत २८ देखि

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार ०६:४४

राजविराज । पूर्वाञ्चलको प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता शक्तिपीठको परिसरमा हुन लागेको लक्षचण्डी रुद्र महायज्ञ आगामी चैत २८ गतेदेखि सुरु हुने भएको छ । बिहीबार छिन्नमस्ता मन्दिर परिसरमा आयोजित पत्रकारसम्मेलनमा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले यही चैत १६ गतेदेखि हुने भनिएको महायज्ञ समसामयिक परिस्थितिका कारण यज्ञको समयतालिका सारिएको उहाँले जानकारी दिनुभयो ।
सप्तरीमा गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर पाँचजनाको मृत्यु भएपछि जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै आगामी चैत्र २८ गतेबाट यज्ञ सुरु हुने पत्रकारसम्मेलनमा बताइएको छ ।
पीठाधीश ठाकुरका अनुसार नेपालमै पहिलो र विश्वमा पाँचौँ पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञमा स्वदेशी तथा सीमावर्ती भारतबाट करिब ५० लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ । साथै चैत २८ गतेबाट सुरु हुने महायज्ञ वैशाख ६ गते सम्म चल्ने बताइएको छ ।
लाखाँैको सङ्ख्यामा आउने भक्तजनका लागि स्वच्छ खानेपानी, शौचालय, रात बिताउनका लागि उपयुक्त बासस्थल लगायतका सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
महायज्ञको प्रचारप्रसारका लागि नेपालमा रथयात्रा सम्पन्न गरी अहिले रथयात्रा भारतको विहार राज्यमा चलिरहेको जानकारी दिँदै महायज्ञको एक हप्ताअगाडि मात्र रथयात्रा सप्तरीको छिन्नमस्ता भगवती मन्दिर शक्तिपीठ परिसरमा आउने बताइएको छ । रु २१ करोडको लागतमा महायज्ञमा नेपाल र भारतका तीनहजार पाँचसय ख्यातिप्राप्त पण्डितको सहभागिता रहने पत्रकारसम्मेलनमा बताइएको छ ।