६ चैत्र २०८०, मंगलवार
Follow Us

कांग्रेसले हलो अड्काएको छैन

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७३, शुक्रबार १४:१६

pradip paudelप्रदीप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

तीन दिनपछि बस्ने नेपाली कांगे्रसको बैठकले स्थानीय निर्वाचन, उम्मेदवारको मापदण्ड तथा वर्तमान राजनीतिको समीक्ष हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । राजनीतिको हलो एमालेले अड्काएको उनको दाबी थियो । वर्तमान राजनीति तथा कांगे्रसको भावी योजनाबारे गरिएको कुराकानी–

० पछिल्लो राजनीतिक अवस्था कांगे्रसले कसरी विश्लेषण गरेको छ ?
– राजनीतिक विश्लेषण गर्नका लागि कांगे्रसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । बैठक विविध कारणले तीन दिनपछि सरेको छ । त्यही बैठकमा हामी राष्ट्रिय राजनीतिको विषयमा छलफल गर्दैछौं । स्थानीय तहको निर्वाचन, त्यसका लागि पार्टीले गर्नुपर्ने कामलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नकै निम्ति पाटीले बैठक बोलाएको हो ।

० राप्रपालाई सरकारमा ल्याउने, आईजीपी काण्डले कांगे्रस बद्नाम भएको चर्चा छ नि ?
– संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य छ, त्यही निर्वाचनको वातावरण बनाउन खोजिएको हो । व्यवस्थापिका संसदभित्र रहेका राजनीतिक दलहरुलाई समेट्ने, सहमतिमा लिने र निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन गरेर अगाडि बढ्ने नेपाली कांगे्रसको मुख्य उद्देश्य हो । संविधान कार्यान्वयन हुन सकेन भने मुलुकमा विभिन्न समस्या आउने निश्चित छ ।

० थे्रस होल्डमा कांगे्रसलाई एमालेले लतारेको हो ?
– अन्तर्राष्ट्रिय क्षेत्रमा यो विषय प्रयोगमा आइसकेको छ । हामीकहाँ पनि यसको अभ्यास पहिले भएको हो । अस्थिर सरकार, अनावश्यक चलखेल हुने, पार्टीले हैसियत प्राप्त गर्न निश्चित मापदण्ड हुनुपर्छ भन्ने कुरा धेरै पहिलेदेखि चर्चा भएको विषय हो । यस विषयमा संसदभित्र दलहरुबीच समझदारी बन्छ भने त्यसलाई नेपाली कांगे्रसले नकरात्मक ढंगले हेर्नु हुँदैन ।

० मधेशी मोर्चालाई सहमतिमा ल्याउने के गर्नुभयो ?
– यतिबेला मोर्चालाई सहमतिमा ल्याउने जे गरिएको छ, त्यो नेपाली कांगे्रसले मात्र गरेको छ । संविधान नमान्नेहरु मान्न तयार हुन्छ भने, निर्वाचनमा आउन आनाकानी गरिरहेकाहरु आउन तयार हुन्छन भने अर्थात् सबै समस्याको हल हुन्छ भने सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावमा हाम्रो समर्थन रहन्छ । मधेशले उठाएको मुद्दा उक्साहट मात्र होइन, राजनीतिक विषयहरु पनि छन् भन्ने कुरा कांगे्रसले मात्र गरेको छ । यतिबेला उदारता कांगे्रसले मात्र देखाइरहेको छ ।

० कांगे्रसले मधेशी मोर्चालाई उचालेर निर्वाचन भाँड्न लागेको आरोप छ त ?
– तर्क नभएको विषयसँग कोही पनि पछि लाग्न सक्दैन । निर्वाचनको वातावरण बनाउनका लागि कांगे्रसले कुनै विषयमा अडान राखेको छैन । यो भए हुन्छ भनेर अडान राखेर हालो अड्काएको भए त्यस्ता आरोप लगाउन मिल्छ ।

० कांगे्रसले प्रतिपक्षीसँग गम्भीर छलफल गरेको छैन भन्नेलाई जवाफ के छ ?
– गम्भीर भनेको के हो ? कति पटक गर्नु ? कांगे्रसले छलफल गरिराखेको छ, कुराकानी भएको भए छ । प्रतिपक्षीले जे भन्यो त्यो मान्दा गम्भीर हुन्छ भने अर्को पक्षले पनि नमान्ला । राजनीतिक दलले आफूले भनेका सबै कुरा लागू गर्नुभन्दा विषयमा अडान राखेर प्रकृयामा जान दिनुपर्छ । असहमतिका बुँदालाई राजनीतिक मुद्दा बनाएर निर्वाचनमा गए हुन्छ । भोलि पनि सुधारका ठाउँहरु छन् ।

० कांगे्रस यतिबेला गच्छदारलाई भित्र्याउने, पार्टी बलियो बनाउने अनि चुनाव जाने भन्छन् ?
– कांगे्रससहितको सरकारले वैशाख ३१ गते निर्वाचन घोषणा गरेको छ । ओली सरकारले निर्वाचन घोषणा गर्न सकेन । त्यसकारण निर्वाचनको मिति घोषणा गर्ने पार्टी चुनावको पक्षमा छैन भन्न मिल्दैन । गच्छदार ल्याउने वा पार्टी बलियो बनाउने काम जुन पार्टीले पनि गर्छ । आफ्नो पार्टीलाई जिताउन, स्वच्छ रचनात्मक प्रतिस्पर्धा गर्न जसलाई पनि छुट छ । पार्टी बलियो बनाउने, कांगे्रसको पक्षमा निर्वाचनको महोल बनाउनका लागि नेपाली जनताको स्वार्थलाई सम्बोधन गरेर एजेन्डा बनाउनका निम्ति कसले कसलाई छेकेको छ र ? कांगे्रस पनि त्यो प्रयत्नमा छ, त्यो स्वभाविक हो ।

० गच्छदारलाई कांगे्रसमा भित्र्याउने हल्ला मात्र हो ?
– यस्ता कुरा प्रश्नकर्तालाई थाहा होला, कांगे्रस ठूलो पार्टी हो, विजय गच्छदारको कांगे्रसमा ठूलो योगदान छ, पार्टी मजबुद बनाउन कांगे्रसको सिद्धान्त र आदर्शलाई स्वीकार गरेर जो कोही आउनलाई छुट छ ।

० तोकिएकै मितिमा निर्वाचन हुन्छ ?
– निर्वाचन गर्नुपर्ने अहिलेको एक मात्र प्राथमिक विषय हो । सरकारले अर्जुनदृष्टि दिएर त्यो काम गर्नु जरुरी छ । नेपाली कांगे्रस संविधान कार्यान्वयन गर्न चाहन्छ । निर्वाचनको मिति तोकिएको छ, शंका नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु ।