१३ बैशाख २०८१, बिहीबार
Follow Us

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार ०६:०९

सल्यान । छ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो । प्रदेशका सबै जिल्लामा गीतसङ्गीतसम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिनुभयो ।
“विविध कारणले मौलिक संस्कृति लोप हुने खतरा छ, यसलाई जोगाउन र भावी पुस्ताका लागि यसलाई लिपिबद्ध गर्न आवश्यक छ” घर्तीले भन्नुभयो । अध्ययन तथा अनुसन्धानका लागि जिल्ला जिल्लामा अनुसन्धान टोली पुगिसकेका छन् ।
लोकगीत, नृत्य र नाटकविज्ञ प्रा डम्बरबहादुर पुनले आउँदो असार अन्तिमसम्ममा आफूहरुले ६ नं प्रदेशमा गरिएको अनुसन्धान प्रज्ञा परिषद्मा बुझाइने गरी सबै जिल्लामा अन्तक्र्रिया, खोज अनुसन्धान भइरहेको बताउनुभयो । अनुसन्धानपछि लोकगीत, नाटक र नृत्यबारे प्रादेशिक दस्तावेज तयार हुनेछ ।
सल्यानमा वनगाडी टप्पा र नृत्य, रतौली, लुतो फाल्ने गीत, लाखे, स्वाङे, ढोट मारुली, मयुर, लाठी नाच, पञ्चैबाजा, झ्याङा गीत, डाला कठौरा, दोहरी, ठाडी भाका, मालै लामसरी, झ्याउरे गीत, साइँली, पैजेरो, झमरा, मारिखोले, टुम्का गीत, बालगीत र टप्पा गीत परम्परागत रुपमा चल्दै आएका छन् ।
यसैगरी घँसिया, पर्व, भैली, ढ्याउँसिरे, संस्कार, खेती, देवस्तुति, मङ्गल, राग, मौसमी, सम्यारने, पैसेरी, ठारी भाका, सोरठी, रोपाइँ, ह्युपा र सैरेली गीत नाच पनि परम्परादेखि चल्दै आएकाले यसको प्रयोग हुने क्षेत्रमा पुगेर थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । यस प्रदेशमा दैलेख, हुम्ला, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, रुकुम, सल्यान र सुर्खेत जिल्ला पर्छन् ।
यहाँ आयोजित एक कार्यक्रममा ‘सल्यानमा लोकसाहित्य (लोकगीत, नाटक र नृत्य)को सङ्कलन’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार भद्रसिंह बुढाले लोकसाहित्य लोप हुन थालेकाले सरकारले संरक्षणका लागि अभियान थाल्नुपर्ने सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका योजना अधिकृत दलबहादुर बस्नेतले लोकसाहित्य संरक्षण र सम्वद्र्धनका क्षेत्रमा समितिले आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।