१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरिया भाषा परीक्षा दिन ३ दिनमा २९ हजारको आवेदन

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार १२:३२

काठमाडौं । ईपिएस कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आगामी जेठमा लिइने कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको तीन दिनमा २९ हजार युवायुवतीले आवेदन भरेका छन् ।
दक्षिण कोरिया जान भाषा परीक्षामा उत्तीर्ण हुनुपर्ने भएका कारण बुधवार, विहीबार र शुक्रबार गरी तीन दिनको अवधिमा २९ हजार युवायुवतीको आवेदन परेको हो । वैदेशिक रोजगार विभागअन्र्तगत ईपीएस कोरिया शाखाका अनुसार २१ हजार १६ जनाले कृषि तथा पशुपालनका लागि र ८ हजार ३७ जनाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन भरेका हुन् ।
पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिएका कारण कतिपय आवेदन फाराममा त्रुटी भेटिएका कारण ईपीएस कोरिया शाखाले त्रुटी सच्याउन चैत २५ गतेसम्मको समय दिने निर्णय गरेको छ । भाषा परीक्षाका लागि आवेदन भर्ने म्याद चैत १८ गतेसम्म रहेको छ ।
दक्षिण कोरियाले यो पटक कृषि तथा पशुपालनतर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार लाने बताएको छ । कोरिया जानको लागि परीक्षा फारम, स्वास्थ्य परीक्षण, रोजगार दरखास्त, अभिमुखीकरण तालिम, बिमा, भिसा शुल्क र हवाई टिकटका लागि ९० हजार रुपैयाँ खर्च लाग्ने गरेको छ । लागतभन्दा मासिक पारिश्रमिक बढी भएकाले कोरिया नेपाली कामदारको आकर्षक गन्तव्य मुलुक मानिन्छ ।
आगामी जेठ २७ र २८ गते हुने भाषा परिक्षामा सहभागी हुन आउँदो १८ गतेसम्म फर्म भर्ने समयसीमा तोकिएको छ । त्यसबेलासम्म एक लाखले आवेदन भर्ने अनुमान गरिएको छ ।