१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अल्डरसट: बेलायतको मिनी नेपाल

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार ०६:३६

अल्डरसट यस भन्दा अघि पनि निक्कै पटक पुगेको थिएँ तर यसपटक मित्र सुर्य गुरुङले अल्डरसटको मिनी नेपाली घुमाउने तारतम्य मिलाउनु भयो । अल्डरसट लन्डन पेरिफेरीको त्यस्तो ठाउँ हो जहाँ नेपाली समुदायको अत्यधिक बसोबास छ । अल्डरसट र यो संगै जोडिएका बस्तीहरु फार्नबरो, सर्रे, क्याम्बरलीमा मात्रै झन्डै २० हजार नेपाली समुदायको बसोबास छ भन्ने सुनियो ।
अल्डरसटको बाटो,पार्कतिर घुम्दै गर्दा मलाई नेपाल गए जस्तै अनुभूति भयो । राजनीतिक सिमानाका कारण मात्र नेपाल र बेलायत भन्नुपरे जस्तो लाग्यो । आजभोलि मलाई जहाँ नेपाली छन् त्यही नेपाल हो जस्तो लाग्न थालेको छ ।
अल्डरसटमा नेपालीपन झल्काउने के मात्रै छैन ? नौमती बाजा बजाउने समुह होस् वा नेपाली लुगा सिलाउने टेलर घर, अनगिन्ती सुन चाँदीका पसलहरु, नेपाली समुदायले संचालन गरेको हेयर सैलूँन, मोमो स्टेसन र नेपाली खानाका असंख्य रेस्टुरेन्टहरु, सयौं मानिसलाई एकैपटक क्याटरिंग गर्न र सांस्कृतिक कार्यक्रम गर्न मिल्ने ब्यान्केटहल,सामुदायिक भवनहरु र दोहोरी साँझको रमझम हेर्दा नेपाल कै कुनै जिल्लातिर घुमीरहेको भान हुन्छ । नेपाली समुदायले नेपाल बाहिर बनाएको यहाँ रहेको बौद्ध गुम्बा जति ठुलो गुम्बा मैले अन्त कतै देखेको छैन ।
युरोपतिर प्राय: हामी चिउरा, चाउचाउ, दाल चामल, मरमसला आदि भारतीय वा पाकिस्तानीका ग्रोसरी पसलमा किन्ने गर्छौं । तर यहाँ त यावत नेपाली सामानहरु पाइने केहि ग्रोसरी पसलहरु चलाएका छन् नेपालीले ।
साँझमा बाटो र पार्कतिर बिसुद्ध नेपाली पोशाकमा सजिएका बा-आमाहरु एकआपसमा भलाकुसारी गरेर बसेको देख्न सकिन्छ । म्याग्दीका एल.बी. पुन र उहाँको समुहसंग पार्कमा बसेर हामीले केही बेर भलाकुसारी गर्यौं । रसिक मिजासका ८५ बर्षीय पुन बा संगको रमाइलो गफको प्रसंग अर्को पोस्टिंगमा कुनै दिन ।