११ बैशाख २०८१, मंगलवार
Follow Us

गुट उपगुट अन्त्य भए मात्र काँग्रेस बलियो हुने

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार १४:०४

हेटौँडा । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेसका नेता र कार्यकर्ता गुटउपगुटमा नलागी एकताबद्ध भई अघि बढ्न सकेमात्र काँग्रेस बलियो हुने बताउनुभएको छ । नेपाली काँग्रेस मकवानपुर जिल्ला सम्मेलनको आज हेटौँडामा उद्घाटन गर्दै महामन्त्री कोइरालाले अब हुने स्थानीय निकायको चुनावमा कसैले विद्रोह वा घात गर्दछ भने पार्टीले कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संसद्को निर्वाचन आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेस मकवानपुर सभापति एवम् गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस देश विकास गर्ने र जनताको सेवा गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा राम्रो मत पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले हालै रौतहट जिल्ला घर भएका मकवानपुर जिल्लाको डाँडाखर्कको कमला माविका प्रधानाध्यापक रामइकवाल यादवको गोली हानी हत्या गर्ने अपराधीलाई पक्राउ गरी कानुनी कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । त्यसअवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यत्रय महालक्ष्मी डिना उपाध्याय, विश्व प्रकाश शर्मा र रामकृष्ण यादवले सरकार परिवर्तनभन्दा संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने र सबै दलले स्थानीय निकाय निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभयो ।