१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७३, शनिबार १४:०९

चितवन । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको हो । अस्पतालको ५४ आँै वार्षिकोत्सवका अवसरमा भोलिदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।
नवजात शिशु सघन उपचार कक्षमा १२ वटा श्यया सञ्चालनमा छन् भने आठ श्यया थप गर्न लागिएको छ । एनआइसियुमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ । अस्पतालले आफैँ खर्च व्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि श्ययाको मात्र निःशुल्क गरिएको थियो ।
निजी अस्पतालमा रु पाँच हजारदेखि रु सात हजार तिर्नुपर्ने अवस्था छ । यस्तै, नवजात शिशुको उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । सोह्र श्यया क्षमतासहितको नवजात शिशुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
एनआइसियु र नवजात शिशु वार्डमा सबै सेवा निःशुल्क गरिएको डा मरासिनीले बताउनुभयो । यसका लागि उपकरण र जनशक्ति थप गरिने पनि उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनी बढ्न थालेका हुन् । निजी अस्पतालमा उपचार खर्च महँगो हुने भएपछि सरकारी अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो ।