१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एक अर्ब बढीको सेयर कारोबार

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार १४:२१

काठमाडौं । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ दशमलव ४८ बिन्दुले बढेको छ ।
स्टककाअनुसार कुल १४२ कम्पनीको ३१ लाख २३ हजार ७१० कित्ता सेयर रु एक अर्ब ४९ करोड ३१ लाख १७ हजार ६८३ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार बैंकिङ ३ दशमलव ५१ प्रतिशत, होटल ५ दशमलव २६, विकास बैंक ४ दशमलव ०७, जलविद्युत् ८ दशमलव ५१, फाइनान्स ४ दशमलव ८३, बिमा ३ दशमलव ४५ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले बढेको छ ।

उपत्यका बाहिरबाट थप सेवा
यस्तै स्टकको निर्देशनअनुसार आजदेखि उपत्यका बाहिर पनि केही सेयर दलाल कम्पनीले सेवा विस्तार गरेका छन् । नयाँ व्यवस्था भएसँगै नेपालगन्ज, बनेपा र बिर्तामोडका जनताले पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।
उपत्यका बाहिर कालिका सेक्युरिटिज, क्रिष्टल कञ्चनजङ्गा, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सानी सेक्युरिटिजले कारोबार सुरु गरेका छन् ।
स्टककाअनुसार नेपालगन्ज, विराटनगर, बनेपा, बुटवल, बिर्तामोड र नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन् । नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन् ।