१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मिसेज चितवनको फाइनल भोलि सोमबार

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७३, आईतवार १४:३६

नारायणगढ । देशको केन्द्रको रुपमा रहेको चितवन धार्मिक, सास्कृतिक र जातीय विविधताका साथै पछिल्लो समयमा व्यक्तित्व विकासको विभिन्न प्रतियोगिता आयोजना हुन थालेका छन् । गत शुक्रवार मिस चितवनको फाइनल भएसँगै भोलि चैत्र १४ गते मिसेज चितवनको फाइनल हुने भएको छ । चितवनमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दुर्गा घिमिरेले बताइन् ।
प्रतियोगितामा सहभागीलाई १ महिना अघिदेखि सञ्चारकर्मीसमेत रहेकी कोरियोग्राफर जयन सुब्बा मानन्धरलगायतले विभिन्न विद्यामा प्रशिक्षण दिइएका छन् । उनीहरुलाई प्रथम मिस नेपाल रुवी राणा ग्रुमी मोटीभेसनललगायत व्यक्तित्व विकाससम्बन्धी तालिम दिएकी थिइन् । तालिमका दौरान उनले आफू मिस नेपाल हुदाका परिवेश र त्यसपछिका वैवाहिक जीवन यात्राबारे अनुभव साटेकी थिइन् ।
प्रतियोगिताकै सन्र्दभ पारेर प्रतियोगीलाई आध्यात्मिक ज्ञान, भ्रमण, मोटीभेशनल क्लास, व्याक्तित्व विकासलगायत विभिन्न विधामा प्रशिक्षित गराइको आयोजकले जनाएको छ । १९ प्रतियोगी सहभागी छन्, प्रतियोगिताको टेलेन्ट सोसमेत गराइएको थियो । उक्त सोमा प्रतिस्पर्धी महिलाले नृत्य, खानाको परिकार, गायन, अभिनयलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
विवाहित महिलालाई अवसरको आवश्यक रहेको भन्दै यस्ता प्रतियोगिताले महिलाले घर बाहिर पनि आफ्नो क्षमता देखाउन सहयोग पुग्ने संयोजन घिमिरेले बताइन् । अर्को संयोजन मीना झाका अनुसार समृद्ध समाजका लागि विवाहित महिला लक्षित यस्ता कार्यक्रमले क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।
दाताज इभेन्ट म्यानेजेमन्टको आयोजनामा हुन लागेको प्रतियोगितामा २५ देखि ४० वर्ष उमेर समुहका महिला सहभागी छन् । प्रतिस्पर्धामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीयले २० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ । भरतपुरको क्यान्सर अस्पतालको सभा हलमा प्रतियोगिताको फाइनल हुने संयोजक घिमिरेले जनाइन् ।
– सिर्जना अर्याल