१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काबेली ए आयोजनाको निर्माण सुरु

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:१५

ताप्लेजुङ । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।
एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानी रहेको छ । सन् २०१२ मा इन्फ्राको एसिया र यसको स्थानीय साझेदार बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना गरेका थिए जसले पहिलो आयोजनाको रुपमा काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् ।
इन्फ्राको एसियाले आफ्नो दक्षता, लगानी र अन्तर्राष्ट्रिय पुँजीमा पहुँच पु-याई स्थानीय निजी क्षेत्रलाई सहयोग गर्दै आएको छ । आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम), नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआइसी एसिया बैंकको ऋण सहयोग रहेको जनाइएको छ । झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् ।
आयोजनाको शुक्रबार स्थानीय वृद्ध दुर्गा भण्डारीले शिलान्यास गर्नुभएको थियो । सो कार्यक्रममा काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोजनाको काम अघि बढ्ने भएकाले निर्माण कार्यले गति लिने बताउनुभएको थियो ।
यता आयोजना सम्पन्न गर्न ठूलो चासो देखाएकामा स्थानीय बासिन्दाबाट प्रभावित आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले उनीहरुबाट निरन्तर सहयोग हुने आशा व्यक्त गर्नुहुन्छ ।
पाँचथर अमरपुरको वडा नं २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किमी सुरुङमार्गसहित पिनासी घाटमा विद्युत् गृह निर्माण गरिनेछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनाको निर्माण कार्य सन् २०२० को अप्रिलमा सम्पन्न हुने बताइएको छ ।