६ चैत्र २०८०, मंगलवार
Follow Us

विभाजित धर्म, राजनीति र मन

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार ०७:२९

आजको विश्व विभाजित छ । हरेक देश र समुदाय विभिन्न कुराहरु जस्तै, धर्म, राजनीतिक आस्था, संस्कार, संस्कृति आदि कुराहरुको कारणले विभाजित छ । जब एउटा घरमा बस्ने एकै परिवारका सदस्यहरु त एक आपसमा मिल्न सक्दैनन् भने हाम्रो देश र समाजमा सबै कुराहरुमा एकमत हुने कुरा कल्पना गर्न सकिंदैन । तसर्थ पनि विभिन्न कारणहरुले हामी र हाम्रो समाज विभाजित हुनु स्वाभाविक हो । मन वा समाज विभाजन हुँदैमा बिग्रह, कलह, द्वेष फैलाउनु पर्छ वा द्वन्द नै गर्नु पर्छ भन्ने छैन । तर ब्यबहारमा भने त्यस्तो भईरहेको छैन ।
अहिलेको विश्वमा कुनै पनि देशमा वा समाजमा सबैभन्दा धेरै विभाजन ल्याउने दुई कुराहरु छन् । त्यी हुन् धर्म र राजनीति । र, अर्को सत्य के पनि भने यो विश्वका अधिकांश मानिसहरु कुनै न कुनै धर्म वा राजनीतिक दलमा आस्था पनि राख्छन् । त्यसैले त यो विषय सबैको चासोको बिषय भएर पनि सबैभन्दा जटिल विषय पनि हो ।
के धर्म र राजनीतिलाई अलग राखेर हाम्रो समाज वा देश चल्छ ? त्यसको उत्तर सहज छ, पक्कै चल्दैन । तर धर्म र राजनीतिले गर्ने विभाजन र बिखन्डनलाई भने न्यूनीकरण गर्न सकिन्छ । त्यसको लागि समाजको हरेक तह र तप्काबाट पहल हुनु जरुरी छ । समाजमा हुने कुनै पनि बिखन्डन, द्वेष, द्वन्द र विभाजनलाई रोक्न र यसको सहज ब्यबस्थापनको लागि म, तपाइँ, हामी, हाम्रो समाज, देश, कुनै पनि दल वा धर्मले आआफ्नो तहबाट सकारात्मक भूमिका खेल्नु जरुरी छ । सबैभन्दा धेरै पहल त धार्मिक गुरु वा दलका नेताहरुबाट हुनु आवस्यक छ ।
राजनीतिक विचार र धर्म मानिस आफैले विकास गरेका हुन् । यी कुनै प्रकृतिका उपज वा जन्मजात आफै आउने कुरा पनि हैनन । त्यसैले यो हामी आफैले सिक्ने, जान्ने र भोग्ने कुरा हुन् । विशेषगरी हामीलाई यी कुराहरु हाम्रो समाज र परिवारले सिकाएको हुन्छ । एउटा धर्ममा आस्था राख्ने परिवारमा जन्मेको मानिस अर्को धर्म मान्ने घटना बिरलै रुपमा हुन्छ । त्यसैगरी हामी हाम्रो समाजमा हुने घटना, सामाजिक अवस्था र परिवेशले हामी कुन राजनीतिक दलमा आस्था राख्छौ भन्ने तय हुन्छ । तसर्थ पनि कुनै व्यक्तिलाई राजनीतिक र धार्मिक रुपमा कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म परिवार र समाजले निर्देश गर्छ ।
कुनै सिद्धान्त वा विचारको तर्क बितर्क गर्नु वा कुनै पनि कुराको पक्ष वा विपक्षमा बहस गर्नु स्वाभाविक हो । तर, कतिपय धार्मिक गुरु वा राजनीतिक दलका नेताहरु त्यस्तो तर्क बितर्क गर्नु भन्दा अरु धर्म वा दल विरुद्ध आक्रोश पोखेर आफ्नो लोकप्रियता देखाउन खोजेको प्रशस्त उदाहरणहरु पाउन सकिन्छ । त्यसैले त यो विषय अहिलेको यो एक्काइसौ शताब्दीमा झन् जटिल र ब्यापक पनि हुदै गएको छ ।

समग्रमा भन्दा हरेक मानिसको जीवनमा लक्ष्य एकै हुन्छ, केही अपवादहरु बाहेक । हामी हरेक व्यक्ति मात्रै हैन यो पृथ्वीको सबै जीवजन्तु पनि दुखबाट बचेर सधै सुख, शान्ति, खुसि र सम्वृद्धि चाहन्छन् । त्यसो भन्दैमा यी कुराहरु सबैले न त सजिलै प्राप्त गर्न सक्छन न त दुखबाट मुक्ति नै पाउन सक्छन् । राजनीति, धर्म र समाजसेवाको अन्तिम लक्ष्य कुनै पनि देश, समाज, परिवार र व्यक्तिको हित गर्नु हो । सबैको सुख, शान्ति र सम्वृद्धिको लागि काम गर्नु हो ।

निसन्देह रुपमा धर्म र राजनीतिका धेरै सकारात्मक पक्षहरु पनि छन् । यो समाजलाई सही दिशामा मार्ग निर्देश गर्ने, संयम अपनाउन प्रयास गर्ने, सामाजिक सद्भाव कायम राख्ने, अनुशासन कायम राख्ने र आफ्नो धर्म र संस्कृतिलाई रक्षा गर्न कुनै पनि धर्मले अहम भूमिका खेलेको हुन्छ । त्यस्तैगरी, कुनै पनि राजनीतिक दलले व्यक्ति, समाज र देशको उन्नति, प्रगतिको लागि नीति नियम बनाउने, आर्थिक विकासको लागि काम गर्ने र समग्रमा कुनै पनि देशलाई प्रगति पथमा लम्काउन ठूलो भूमिका खेल्नुपर्छ । त्यसैले धर्म र राजनीति अहिलेको विश्वलाई विभाजन र बिखन्डन गर्ने समस्याको प्रमुख जड वा कारण मात्रै हैनन् र यी समस्याहरुको समाधानको उपाय पनि यिनै हुन् ।

आजको यो विश्वमा विज्ञान र प्रविधिमा दिन प्रतिदिन धेरै नयाँ कुराहरुको आविस्कार र प्रयोग भइरहेको छ । तर, धर्म र राजनीतिमा भने त्यस्तो कुनै प्रयोग हुने वा आमुल परिवर्तन हुने कुनै संकेत छैन र सम्भावना पनि छैन । त्यसैले अहिले विश्वमा जुन विचार र वाद चल्दैछन् र जुन धार्मिक आस्थाहरु चलिरहेका छन् तिनैमा सामाजिक सद्भाव, सहअस्तित्व र सहकार्य खोज्ने हो । यसको लागि अहिलेको विश्व र कुनै पनि देश, राजनीतिक दल र धर्म हाँक्नेले नै त्यसको लागि ठोस कदम चाल्नु पर्छ ।
राजनीति र धर्म कसैलाई जबर्जस्ती रुपमा लाद्न सकिने कुरा पनि हैनन् । त्यसैले यस्ता कुराहरुमा व्यक्तिगत स्वतन्त्रता र रोजाईको पनि भूमिका हुन्छ । अनि कुनै व्यक्तिले आफूलाई धर्म र राजनीतिबाट कुनै पनि बेला अलग राख्न पनि सक्छ । तर, एक पटक मनले कुनै कुरा रोजी सकेपछि त्यसलाई त्याग्न र अलग हुन भने निकै गाह्रो पर्छ । त्यसैले पनि सुरुमा नै आफूले सही मार्ग रोज्नु र खोज्नु पनि पर्छ ।

यदि हामी सबै धर्म, परम्परा, संस्कृति र राजनीतिक विचारको सम्मान गर्ने हो भने सामाजिक सद्भाव त्यसै कायम हुन्छ । समाजमा विखन्डन र विभाजन पनि रोकिन्छ । हाम्रो मनलाई मनले जोड्छ । विचारलाई विचारले जोड्छ । अनि अर्को कुरा के भने हरेक मानिस आफैमा एक विचार, आदर्श र अनुपम शक्ति पनि हो । हरेक मानिस अर्को मानिससँग धेरै कुरामा फरक हुन्छ । त्यसैले पनि एक मानिसले अर्को मानिसलाई सम्मान र प्रेम गर्न सिक्नुपर्छ । अर्को मानिसको अस्तित्व स्वीकार गर्न सक्नु पर्छ । अनि मात्र हामी बिभाजन र बिखन्डनबाट अलग हुन सक्छौँ र शान्त, सुन्दर र सम्बृद्ध संसारको कल्पना साकार पार्नसक्छौँ । त्यसैगरी, एउटा राजनीतिक दलले अर्को दललाई सम्मान गर्ने र एउटा धर्मले अर्को धर्म र प्रत्येक मानव जातिलाई सम्मान र प्रेम गर्ने हो भने पनि अहिले देखिएको धेरै समस्याहरुको समाधान हुनसक्छ ।

(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोशिएट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् ।)