६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा रहेको भारु तत्काल नसाटिने

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७३, सोमबार १५:२६

काठमाडौं । भारतले प्रतिवन्ध लगाएको ५ सय र १ हजार दरका नोट सटहीबारे नेपाल र भारतका अधिकारीबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ता निष्कर्षमा पुग्न नसक्दा नेपालमा रहेका भारु पाँच सय र हजारका नोट तत्काल नसाटिने भएको छ । प्रतिबन्धित भारु नोट सटहीसम्बन्धी विषय टुंगो लगाउन नेपाल आएको भारतीय टोलीसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि भारु नोट तत्काल नसाटिने भएको हो ।
शनिबार रिजर्भ बैंक अफ इण्डियाकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको टोली भारु नोट सटही विषय टुंगामा नपुर्याई स्वदेश फर्किको छ । नेपालमा रहेको ५ सय र हजार दरका ४५ सय भारुभन्दा बढी साट्न नसक्ने अडान राख्दै सो टोली सोमबार नै भारत फर्किएको हो । डा. जोशीको टोलीले आइतबार र सोमबार राष्ट्र बैंकको टोलीसँग छलफल गरेको थियो ।
छलफलमा भारतीय पक्षले साढे ४ हजार भारुमात्र सटही गर्ने अडान राखेको थियो । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नेपाल राष्ट्र बैंक भारतीय पक्षले साढे ४ हजारभन्दा बढी सहटी गर्न दिने अधिकार नभएको र सोही रकममात्र सटही गर्न सक्ने भएकाले यसैमा सहमति गरौँ भनेपछि वार्ता निष्कर्ष विहिन बनेको हो । ४ हजार ५ सय रुपैयाँ मात्र एक सातामै साट्नुपर्ने समयसीमासमेत भारतीय पक्षले राखेको थियो ।
सहप्रवक्ता पण्डितका अनुसार वार्ता निष्कर्षमा पुग्न नसक्दा नेपालको वित्तीय च्यानलमा रहेको पौने चार करोड प्रतिबन्धित नोट साटिनेमा थप अन्यौलता बढेर गएको छ ।
– सीता पोखरेल