१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युकेमा लिम्बु भाषामा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार ०७:२७

गत २६ मार्च २०१७ का दिन युकेमा रहेका लिम्बु महिलाहरुको ऐतिहासिक प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता अल्डरसुटको एम्पायर ब्याङक्वेटमा सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय समिति अन्तर्गतको महिला समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायतको शिर्षकमा प्रश्नहरु सोधिएका थिए । महिलाहरु मात्र प्रतिस्पर्धी रहेका उक्त प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन शाखा प्रथम, वेजिङस्टोक शाखा दोस्रो र रशमोर शाखा तेस्रो भएका थिए । लिम्बु महिलाहरुका ११ समुहहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

दोस्रो चरणको बक्तित्वकला प्रतियोगितामा कोलचेष्टरबाट सानु लिम्बु प्रथम, अक्सफोर्डबाट जानु काम्बाङ दोस्रो र आसफोर्डबाट मनमाया नेम्बाङ तेस्रो हुनु भयो । वक्तित्वकलामा १० प्रतिष्पर्धिहरु सहभागी थिए ।

चुम्लुङ युकेका अध्यक्ष काजीमान यक्सो, नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष तुल छन्त्याल र डा. चन्द्र लक्सम्बाले सयुक्त रुपमा पानासमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । सामुहिक च्याब्रुङ नृत्यको प्रस्तुतीबाट शुभसाइत गरिएको कार्यक्रमका प्रश्नकर्ता एवं निर्णायक मण्डलमा गणेश इजम, विमला सेन र खुसि लिम्बु लगायत रहनु भएको थियो ।

लिम्बु पहिरनमा भेला भएका लिम्बु महिलाहरुले हाजिरी जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता लगायत पूरै कार्यक्रम लिम्बु भाषामा संचालन भएको थियो । यो युकेको इतिहासमा पहिलो हो भने लिम्बु भाषा नेपालको चौथौ संमृद्ध भाषा मानिन्छ र यसलाई किरात सिरिजङ्गा लिपीमा लेखिन्छ ।

चुम्लुङ महिला समितिका अध्यक्ष युमा लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई मनमाया लिम्बुले लिम्बु भाषामै स्वागत गर्नुभएको थियो भने महासचिव महेश्वरी नेम्बाङले संचालन गर्नुभएको थियो ।

– विश्वास दीप तिगेला