May 29, 2020
3:42 AM | 8:27 AM

इलामकी कविता बैङ्कक जेलमा

  28th March 2017 मा प्रकाशित

इलाम । इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् । क्यानाडाको नक्कली भिसा भएको आरोपमा थाई प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । क्यानाडाको नक्कली भिसा लागेको राहदानीसँगै होटलबाटै थाई प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थाई प्रहरीले १२ जनवरीमा थाई क्रिमिनल कोर्टमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको छ । आचार्य र अधिकारीले भने आफूहरू निर्दोष भएको बताएका छन् ।
अहिले अदालतमा मुद्दा चलिरहेकाले अदालतको आदेशअनुसार उनीहरूलाई जेलमा राखिएको छ । वकिलको परामर्श लिँदा उनीहरूलाई धरौटीमा छुटाउन दुईलाख ५० हजार थाई भ्याट धरौटी तिर्नुपर्ने बताएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
योसँगै वकिल राखेर उनीहरूको पक्षमा बहस र उनीहरूलाई भेटेर बहस नोट लेख्नका लागि कम्तीमा एक पटकको पाँच हजार थाई भ्याट लाग्ने र धरौटीमा छुटाउनका लागि कम्तीमा छ पटक भेट्नुपर्ने भएकाले उनीहरूलाई छुटाउन ठूलो रकम चाहिने बताइएको छ ।
धन कमाउनका लागि विदेश जान खोजिरहेकी आचार्यलाई दलालले क्यानाडा पठाई दिने प्रलोभन देखाए । क्यानाडा जस्तो मुलुकमा जान पाउने भएपछि सरसापट गरेर भएपनि आचार्यले विदेश जाने निधो गरिन् । दलालले थाइल्यान्ड हुँदै क्यानाडा पठाइदिने भनेपछि अधिकारीसँगै असोजको अन्तिम हप्ता आचार्य थाइल्यान्ड हुँदै क्यानाडा हिँड्ने तयारी थियो ।
त्यहाँ दलालले क्यानाडाको भिसा लगाएर राहदानी दिएपछि होटलमै थाई प्रहरीले पक्राउ गरेको आचार्यका आफन्तले जानकारी गराएका छन् । पक्राउ परेपछि सम्पर्क नभएकाले दलाल को हो भन्ने कुरा थाहा भइनसकेको परिवारले जनाएको छ ।

प्रतिक्रिया