May 29, 2020
5:04 AM | 9:49 AM

आरआरमा स्ववियु निर्वाचन, पेट्रोल बम प्रहार

  28th March 2017 मा प्रकाशित

काठमाडौं । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा चैत २ गते अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले जानकारी दिनुभयो ।
आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन हुन थालेको हो । आज बिहान ८ देखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकिएको छ । अहिले मतदान जारी छ । निर्वाचनमा करिब तीन हजार ५०० मतदाता सहभागी हुँदैछन् । फागुन १८ र २३ गते विद्यार्थी सङ्गठनबीच विवाद हुँदा त्यहाँ निर्वाचन स्थगित भएको थियो ।
निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घले सहभागिता जनाएका छन् भने अनेरास्ववियु क्रान्तिकारीले बहिष्कार गरेका छन् । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रशासनले स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गर्न थालेकाले निर्वाचन प्रक्रियामा सहभागिता नजनाएको जानकारी गराउनुभयो ।

पेट्रोल बम प्रहार
यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पु-याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ ।
प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीले जानकारी दिनुभयो । आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको बताइएको छ । अहिले आरआर क्याम्पस र वरिपरिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकोे परिसरका प्रमुख जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया