१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्मिंङहममा गाडीको ठक्करले नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार १०:२३

फडिन्द्र भट्टराई ।

बेलायतको बर्मिंङहममा बाटो पार गर्ने क्रममा तिब्र गतीमा दौडिएको गाडीले ठक्कर दिँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय नेपाली समुदायबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु गाविस , थोर्गा घर भई हाल बेलायतको बर्मिंङहममा बस्ने ४५ वर्षिय दिल सुवेदी रहेका छन् ।

स्थानीय नेपाली सामुदायिक संस्था शान्ति नेपाली समाज बर्मिंङहमका कार्यकारी पदाधिकारी यज्ञ खरेलका अनुसार आज मात्रै सुवेदीको व्यक्तिगत डाक्टरले घरमै आएर उनको मृत्यु भएको आधिकारिक पुष्टी गरेकी हुन्।

प्रहरीले घटनामा एक जना ४५ वर्षीय मान्छेको मृत्यु भएको पुष्टी गरे पनि आधिकारिक रुपमा मृतकको नाम भने अहिलेसम्म सार्वजनिक गरेको थिएन।
हरियो बत्तिको सिग्नलमै पैदल बाटो काट्दै गरेका सुवेदीलाई तेज गतीमा हुईकिएर् आएको कारले हुत्त्याउँदा उनको तत्काल मृत्यु भएको हो।

ठक्कर दिने गाडीलाई प्रहरीको गाडीले पिछा गरिरहेको जनाईएको छ। सँगै बाटो काटिरहेका साथीले पछाडि फर्केर हेर्दा सुवेदीलाई उक्त गाडीले झन्डै २० मिटर पर फालिसकेको थियो। त्यसपछि प्रहरीले उनीहरुलाई घटनास्थलमा पुग्न समेत रोक लगाएको थियो।
आफ्ना तीन छोरा र श्रीमतीको साथ बेलायतमा बस्दै आएका सुवेदी आईतबार राति कामबाट घर फर्किने क्रममा घर नजिकै आइपुग्दा यो घटना भएको जानकारी प्राप्त भएको छ।

अत्यन्तै आकस्मिक घटनापछि बर्मिंङहमको सिंगो नेपाली समुदाय शोकसन्तप्त बनेको छ।
बिच्छिप्त परिवारजनलाई भेटेर फर्किएका बेलायत ग्र्यान्थमका ब्यवसायी तथा समाजसेवी कमल भण्डारीका अनुसार खास गरेर मृतक सुवेदीकी श्रीमती अचेत अवस्थामै छन्। गुल्मी जिल्ला समाज युकेका सल्लाहकारसमेत रहेका भण्डारीले उक्त घटनापछि आफूहरु परिवारको निरन्तर सम्पर्क र सहयोगमा रहेको बताए।

सुवेदीसँगै एकै घरमा बस्ने दैलेखका कृष्ण कटुवालले मृतक सुवेदीका जेठा छोरा तेज सुवेदीँलाई सम्पर्क गराउँदाको पारिवारिक पीडाको प्रतिविम्ब अव्यक्त थियो।
उनले बुवाको मृत्यु पुलिसकै गाडीले हो वा उसले पच्छ्याएको गाडीले हो आफूलाई थाहा नभएको बताए।

सुवेदीको शवलाईसमेत प्रहरीले परिवार भेट्न दिएको छैन। यो घटनालाई प्रहरीले स्वतन्त्र प्रहरी आयोगमा शिफारिस गरेको खबर बिबिसीले प्रकाशन गरेको छ।
पुलिस इन्डिपेनडेन्ट कमिसनमा जाने घटना सामान्यतया प्रहरीको सहभागितामा भएका घटना हुने गर्छन्।