६ चैत्र २०८०, मंगलवार
Follow Us

राजकुमार ह्यारीले नसुनेको त्यो राष्ट्रिय धुन !

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार ०८:०१

cms-image-000004173प्रजय शुक्ल । ट्रेन छुट्न लागिसकेकाले साथी संतोष र म स्टेसनतिर दौडँदै थियौँ। सुट, प्यान्ट र टाइ लगाएर दौडन असहज र अस्वभाविक भएपनि हामीलाई कसैको केही परवाह थिएन। ट्रेन स्टेसन पुग्दा हामी पसीनाले नुहाइसकेका थियौँ। बल्लतल्ल ट्रेन भेट्टायौँ समयमै गन्तव्यमा नपुगिएला कि भनेर डराउँदै चढ्यौँ।

बेलायत–नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन बेलायतको राजकुमार ह्यारी आउने कुराले सबैको ध्यान खिचेको थियो। हामी तिनै राजकुमार ह्यारीलाई भेट्न जाँदै थियौं। साथी संतोषले त ह्यारीलाई भेट्न भनेरै स्कटल्याण्डदेखिको लामो यात्रा तय गरेका थिए।

हाम्रो ट्रेन लण्डनतिर हुइँकियो। ट्रेनको यात्रामा मन मिल्ने साथी भए समय बितेको पत्तै नहुने। ब्राइटनदेखि लण्डनको १ घण्टाको रेलको यात्रा साह्रै छिटो बित्यो।

लण्डनस्थित नेपाली राजदूतावासमा ३ बजे कार्यक्रम सुरु हुने भएकोले हामी ट्रेनबाट उत्रेर नेपाली दूतावासतिर लम्क्यौँ। सिमसिमे पानी पर्न थाल्यो। हाम्रो सुकिलो सुट पानीले भिजेको थियो तर त्यसको पर्वाह नगरी हिँड्यौँ।

दूतावासबाहिर केही साथी भाइसँग भेट भयो। ह्यारीका लागि दूतावासको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो। हामी आफ्नो परिचयपत्र र निमन्त्रणापत्र सुरक्षाकर्मीलाई देखाउँदै दूतावासभित्र पस्यौँ।

दूतावासमा पुग्दा आगन्तुकहरुको घुइँचो लागिसकेको थियो। दूतावास भवनपछाडि पाल लगाएर मञ्च तयार गरिएको थियो। हामी केहीबेर साथीभाइसँगको गफगाफमा व्यस्त भयौँ।

ह्यारीको नेपाल र नेपालीप्रति अगाध माया र प्रेम रहेको देखिन्छ। करिब १ वर्षअघि उनले नेपाल भ्रमणको क्रममा भूकम्पबाट प्रभावित गोरखाको दुर्गम गाउँमा ११ दिन बिताएका थिए। भूकम्पबाट ध्वस्त विद्यालयको पुनर्निर्माण गर्न उनले पनि श्रम गरेका थिए। त्यसबेला आफूलाई सकेसम्म मिडियाबाट टाढा राख्ने प्रयास गरे। एउटा सामान्य मानिस झैँ गाउँलेमाझ सरल र सहज रुपमा उनी प्रस्तुत भए।

अफगानिस्तान युद्धमा गोर्खाली सेनासँग बिताएका पलहरुबाट उनी गोर्खालीसँग निकट भएका थिए। गोर्खाली सेनाले देखाएको बहादुरी, लगन र समर्पणको उनी सँधै प्रशंसा गर्छन्। त्यसकारण पनि होला नेपाली राजदूतावासको कार्यक्रममा उनी निकै उत्साहित देखिन्थे।

साँझको ४ बजे ह्यारी कार्यक्रममा सहभागी हुन आइपुगे। उनी नमस्कार गर्दै आफनो कारबाट ओर्लिए। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उनलाई फूलमाला लगाई स्वागत गर्दै कार्यक्रम स्थलमा पुर्‍याए। कार्यक्रममा सबै उनैको प्रतीक्षामा थिए।

कार्यक्रमको सुरुवातमा नेपाल र बेलायतको राष्ट्रिय धुन बजेपछि हामी सबै आआफ्नो ठाउँमा उभियौं। तर कस्तो अफसोच, नेपाली राष्ट्रिय धुन बज्दै गर्दा बेलाबेलामा धुन अड्किन थाल्यो। म ह्यारीको अनुहार हेर्दै थिएँ। उनी असहज महसुस गरिरहेजस्ता देखिन्थे। त्यसपछि बेलायती राष्ट्रिय धुन बज्यो। बीचबीचमा अड्किने समस्या त छँदै थियो, त्यसमाथि धुन नसकिई बीचैमा बन्द गरियो। धुन पूरै बज्न पाएन। म आश्चर्यचकित भएँ। ह्यारी गम्भीर मुद्रामा थिए। म र मेरो साथी लाजले भुतुक्क भयौँ। सायद अरुले पनि हामीले जस्तै महसुस गरे होलान्।

राजकुमार ह्यारी आउने कार्यक्रमको राम्रो तयारी नगरेको देख्दा ज्यादै दुःख लाग्यो। लण्डनजस्तो आधुनिक प्रविधिको केन्द्रमा रहेर पनि हामीले राष्ट्रिय गीत पनि राम्ररी बजाउन सकेनौं। लण्डनमा जस्तोसुकै साउन्ड सिस्टम पनि भाडामा लिन पाइन्छ। तर पनि हामी चुक्यौँ। राष्ट्रिय गीत राम्ररी नबज्दा जो कोहीले पनि अपमान बोध गर्नसक्छ।

कार्यक्रममा ह्यारीले नेपाल भ्रमणका दिन सम्झदैँ भविष्यमा पुनः नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरे। उनले गोरखाको गाउँमा जसको घरमा बास बसे, उनको नामै लिएर प्रशंसा गरे। ‘म मंगली तामाङको आतिथ्य र स्वागत त जीवनमा कहिल्यै बिर्सन सक्दिनँ,’ उनले भने। उनको यो भावनाले मलाई निकै छोयो। मानिसहरु जीवनमा ठूलाठूला कुरा गर्छन्। तर आफूलाई सहयोग गर्ने सबैलाई बिर्सन्छन्। तर ह्यारीले मंगली तामाङलाई आफ्नो मनसपटलमै कैद गरेको पाएँ।

कार्यक्रमको सबैभन्दा हृदयस्पर्शी क्षण दुई वीर गोर्खालीहरुको उपस्थिति थियो, जसले युद्धमा दुवै खुट्टा गुमाएका थिए। उनीहरु दुवैलाई बीचमा राखेर ह्यारीले तस्वीर खिच्दा लाग्यो, उनी आफ्ना गोर्खाली साथीहरुलाई भित्री हृदयबाटै माया गर्दा रहेछन्।

भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खालीहरुको सम्मान गर्ने क्रममा उनलाई मंचबाट दूतावासको हलमा लगियो। हलमा सबैलाई प्रवेश दिइएको थिएन। विदेशी पत्रकारहरु ह्यारीको पछिपछि हलमा प्रवेश गरे तर नेपाली पत्रकारहरुलाई दूतावास प्रतिनिधिहरुले नै प्रवेश गर्न रोक लगाए। नेपाली पत्रकारहरुलाई पछाडिको ढोकाबाट आउन भनियो, पत्रकारहरु दौडदै हल भित्र छिर्न खोजे। कति छिरे कतिलाई छिर्न दिइएन। ढोका बन्द गरियो। नेपाली पत्रकारहरुमाथि आफ्नै दूतावासको यो कस्तो भेदभाव हो मैले बुझ्न सकिनँ।

हलभित्र म ह्यारीको निकट पुगेँ। उनले हाँस्दै, कुराकानी गर्दै हामी सबैसँग हात मिलाए। उनी सबैका सामु ज्यादै सरल र सहजताका साथ प्रस्तुत भएका थिए।

नेपालीहरुको माया, स्वागत र सत्कारलाई बिर्सन नसक्ने, अन्नपूर्ण हिमशृंखला र बर्दिया राष्ट्रिय निकुञ्जको मनोहर दृश्य बिर्सन नसक्ने ह्यारी मंगली तामाङको हृदयमा मात्र होइन, थुप्रै नेपालीहरुको हृदयमा सदैव रहनेछन्।