१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसले वैशाख ७ भित्र स्थानीय तहका उम्मेदवार चयन गरिसक्ने

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७३, बुधबार ०८:३०

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गर्दै वैशाख ७ भित्र उम्मेदवारसमेत छनोट गरिसक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुई बुँदे मापदण्ड तय गरेको हो । जसअनुसार एउटा निर्वाचन क्षेत्र अन्तरगतका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ । सम्वन्धित गाउँ, नगरको सिफारिस हुँदै आएको उम्मेदवारको नाम सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्य समितिबाट सर्बसम्मत निर्णय गर्नु पर्ने छ । दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख, उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्ने छ । क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्ला समितिले अनुमोदन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय गरेको कांग्रेसले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय सभापति र जिल्ला सभापतिलाई दिएको छ ।