१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विमानस्थलमै मिलेमतोबाट नेपाली महिलालाई विदेश पुर्‍याइन्छ

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार ०८:३३

काठमाडौं । नेपाली महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडीका विभिन्न मुलुकमा पुर्‍याइने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै सेटिङ मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पुर्‍याइने गरेको देखाएको हो ।

समितिअन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पुर्‍याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाएर पुर्‍याइएको देखिएको हो । उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक पुर्‍याएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ ।

उपसमितिले महिलालाई गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने गरेको पाइएको जनाएको छ । त्यसरी गैरकानुनी काम गर्नेहरुको पहिचान भने हुन नसकेको ठहर समितिले गरेको छ । तर महिलालाई खाडी मुलुकसम्म पुर्‍याएर गैरकानुनी क्रियाकलापमा लगाउन उच्च राजनीतिक तहकै संलग्नता हुन सक्ने आशंका उपसमितिले गरेको छ ।

उपसमितिले नेपाली कामदारसँग वैदेशिक रोजगारीमा जानुअघि गरिएको श्रम सम्झौताबमाजिम तलव र सुविधा नदिने गरिएको र एउटा कामका लागि भनेर लगिएकाहरुलाई अर्कै काम लगाउने गरेको पाइएको जनाएको छ । त्यसैगरी समितिको बैठकमा श्रमसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७२ सम्बन्धी कार्यदलले प्र्रतिवेदन बुझाएको छ ।